चितवनले मलाई न्याय दिएको थियो, अब चितवनले देशलाई न्याय गर्ने छ- रवि लामिछाने
चितवन, १ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रवि लामिछानेले चितवनमा आफूले न्याय पाएको र अब चितवनले देशलाई पनि न्याय गर्ने बताएका छन् ।
चितवनको नारायणी नदी किनारमा बिहिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै रविले चितवनमा विगतका निर्वाचनमा मतपत्र च्यातिएको घटनातर्फ संकेत गर्दै अब यस निर्वाचनमा धाँधलीको सपना नदेख्न चेतावनी समेत दिए ।
रविले भने, ‘चितवनमा गएर मात्र सही निर्णय हुन्छ, न्याय नपाउँदा चितवनले न्याय दिएको थियो । अब चितवनले देशलाई न्याय गर्ने छ । तपाइहरु सबैलाई धेरैधेरै धन्यवाद दिन चाहन्छु ।’
आफूलाई सधैं प्रश्नहरुको घेरामा राखेर तिरहरु रोपिएको बताउँदै रविले अब आफू जिउँदो भएको कुरा समेत प्रमाणित गर्ने अवस्था आउन सक्ने कुरा बताएका थिए । समयसमयमा विवादमा फसाउन खोजिएको भन्दै उनले भने, ‘ देशबाट नै निकाल्न खोजेका मानिसहरु पनि थिए । हरेक नागरिकको घरमा पुग्छु र पुगिरहन्छु । यहाँ उपस्थित भएको यो भीड, नेपालमा परिवर्तन आवश्यक छ भन्ने आवाज हो ।’
आफ्नो विरुद्ध निर्वाचनमा षडयन्त्रहरु हुन थालेको विचार राख्दै अब धाँधली गरेर चुनाव जित्ने सपना नदेख्न चेतावनी पनि दिएका थिए ।
कार्यक्रममा कलाकारहरु दीपाश्री निरौला रमेश उप्रेती किरण केसी र निर्मल शर्माले पनि रविको समर्थनमा वक्तव्य राखेका थिए ।
चितवन २ मा नेकपा एमालेका तर्फबाट कृष्णभक्त पोखरेल र नेपाली काँग्रेसबाट उमेश श्रेष्ठ पनि चुनावी मैदानमा छन् ।