आरिफ र गुल्शनको उत्कृष्ट साझेदारीमा नेपालले युएईलाई हरायो

काठमाडौं, ३० कात्तिक । खराब ब्याटिङको सुरुवातका बाबजुद आरिफ शेख र गुल्शन झाले महत्वपूर्ण साझेदारी गरेपछि नेपालले दोस्रो एकदिवसीय खेलमा युएईलाई हराएको छ ।  बुधबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल ३ विकेटले विजयी भएको हो ।

जितका लागि १९२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४७.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालको जीतमा गुलशन झाले सर्वाधिक ३७ रन बनाए भने कुशल भुर्तेल ३५ रनमा आउट भए ।

आरिफ शेख ३३ रनमा अविजित रहे । नेपाल १०६-६ को कठिन अवस्थामा पुगेका बेला गुल्शन र आरिफले ६२ रनको महत्वपूर्ण साझेदारी गर्दै जीतको आधार तय गरेका थिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४३.२ ओभरमा अलआउट हुँदै १९१ रन बनाएको थियो । उसका लागि मोहम्मद वासिमले सर्वाधिक ५० रन बनाए भने अलिशान शराफुले ३५ रनको योगदान दिए ।

नेपालका लागि सोमपाल कामी र ललित राजवंशीले ३-३ विकेट लिँदा करण केसी, गुलशन झा, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिएका थिए ।

योसँगै तीन खेलको श्रृंखला १-१ को बराबरीमा आएको छ । अन्तिम खेल शुक्रबार हुनेछ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय