डेब्यु खेलमा आयान र अर्जुनको उत्कृष्ट प्रदर्शन

प्रतिक भट्ट

काठमाडौं, २८ कात्तिक । सोमबारदेखि त्रिवि क्रिकेट मैदानमा सुरु भएको नेपाल र युएईबीचको एकदिवसीय श्रृंखलामा नेपालले सुखद सुरुवात गर्न सकेन । नेपाल ८४ रनको फराकिलो अन्तरले पराजित हुन पुग्यो ।

सधैंजसो नेपालको ब्याटिङ यसपटक पनि चल्न सकेन । दीपेन्द्रसिंह ऐरीले ५४ तथा अर्जुन साउदले ५१ रन बनाउनुबाहेक अन्य ब्याटरबाट उल्लेख्य योगदान हुनै सकेन ।

घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहने १९ वर्षका युवा विकेटकिपर ब्याटर अर्जुन साउदले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरिसकेको भएपनि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भने डेब्यु गर्न बाँकी थियो ।

आज भएको युएईसँगको खेलमार्फत उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरे र अर्धशतक पनि बनाए त्यो पनि नेपाल कठिन परिस्थितिमा भएका बेला । अर्जुनले दीपेन्द्रसँग मिलेर नेपालको आशा जीवितै राखेको भएपनि दुवै आउट भएपछि नेपालले खेल जित्‍न सकेन ।

केही महिनाअघि केन्यासँग एकदिवसीय खेल खेलेकफ भएपनि उक्त खेलले अन्तर्राष्ट्रिय मान्यता भने पाएको थिएन । उक्त श्रृंखलाका तीन खेलमध्ये अर्जुनले दुई खेलमा अर्धशतक प्रहार गरेका थिए ।

त्यसैगरी युएईका १६ वर्षीय अलराउन्डर आयान अफजल खानले पनि पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने क्रममा उत्कृष्ट बलिङ प्रदर्शन गरे भने पहिलो इनिङमा ब्याटिङमा पनि महत्वपूर्ण योगदान दिए । उनले पहिलो इनिङमा एक चौका र एक छक्कासहित अन्त्यतिर २६ रनको योगदान दिए ।

बलिङमा उनले १० ओभरमा तीन मेडन राख्दै केवल १४ रन दिएर ४ महत्वपूर्ण विकेट लिए । आयानले पहिलो ओभरमा आसिफ शेखलाई एलबीडब्लु आउट गर्दा त्यसै ओभरमा ज्ञानेन्द्र मल्लको विकेट लिए ।

त्यसैगरी कप्तान रोहितकुमार पौडेल र कुशल भुर्तेललाई पनि उनले सस्तैमा पेभेलियन फर्काएका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय