इंग्ल्यान्डलाई टी-२० विश्‍वकपको उपाधि

काठमाडौं, २७ कात्तिक । अस्ट्रेलियामा सम्पन्‍न टी-२० विश्‍वकप क्रिकेट २०२२ को उपाधि इंग्ल्यान्डले जितेको छ । आइतबार मेलबर्नमा सम्पन्‍न फाइनल खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै इंग्ल्यान्डले दोस्रोपटक उपाधि जितेको हो ।

पाकिस्तानले दिएको १३८ रनको लक्ष्य इंग्ल्यान्डले एक ओभरअगावै ५ विकेटको क्षतिमा भेट्टायो । इंग्ल्यान्डको जीतमा बेन स्टोक्सले अविजित रहँदै ५२ रन बनाए । त्यसैगरी कप्तान जस बट्लरले २६ रन बनाए ।

पाकिस्तानका हारिस रौफले २ विकेट लिँदा शाहीन अफ्रिदी, मोहम्मद वासिम जुनियर र शादाब खानले १-१ विकेट हात पारे । चोटका कारण शाहीनले २.१ ओभर मात्र बलिङ गरेका थिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३७ रन बनाएको थियो । शान मसूदले ३८ रन बनाए भने बाबर आजमले ३२ रन बनाए । इंग्ल्यान्डका साम करानले ३, आदिल राशिद र क्रिस जोर्डनले २-२ तथा बेन स्टोक्सले १ विकेट लिए ।

खेलको म्यान अफ दि म्याच इंग्ल्यान्डका साम करान चुनिए भने प्लेयर अफ दि टुर्नामेन्ट पनि करान नै चुनिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय