जब मिनेन्द्रले सन्तोषलाई माइक दिए….
प्रतिक भट्टकाठमाडौं, २६ कात्तिक । पटक-पटक संसदको रोस्ट्रममा उभिएर जनताको सवालमा आवाज बुलन्द गरेका पुर्वमन्त्री एवं नेपाली काङ्ग्रेसका पुर्व केन्द्रिय सदस्य डा. मिनेन्द्र रिजाल शनिबार एउटा कार्यक्रममा आफैं माइक बोकेर पुगे ।
उनी सहभागी कार्यक्रममा आयोजकले ७ वटा माइकको व्यवस्था गरिएको भएपनि डा.मिनेन्द्रले हातमा नयाँ माइक बोकेर जानु अनौठो मात्रै होइन सबैका लागि कौतुहलताको विषय थियो ।
नेपाली काङ्ग्रेस काठमाडौ क्षेत्र नम्बर-३ निर्वाचन परिचालन तथा प्रचारप्रसार समितिले आयोजना गरेको ‘बुद्धिजीवीसँग उम्मेदवार’ कार्यक्रममा प्रमुख वक्ता थिए डा.मिनेन्द्र रिजाल ।
निर्वाचन प्रचारप्रसार संयोजक हरिबोल भन्डारीले कार्यक्रम संचालन गर्दै थिए जब डा.मिनेन्द्रलाई उनले सम्बोधनका लागी बोलाए उनले आफुले ल्याएको माइक लिएर स्टेजमा उभिए । अनि मन्चमै बसेका उम्मेदवारहरुलाई हेरेर मुस्कुराए ।
जब आयोजकको माइक उनको हातमा पर्यो अनि काठमाडौं-३ का प्रतिनिधि सभा उम्मेदवार सन्तोष चालिसेलाई बोलाए र आफुले ल्याएको माइक थमादिए । त्यसपछि मात्रै थाहा भयो उनले सन्तोषलाई चुनाव जितेर संघिय संसदमा गएपछि जनताको समस्यालाई बुलन्द गर्न त्यो माइक उपहार दिदै रहेछन् ।
माइक उपहार दिदै डा.रिजालले भने- ‘यसपटक म संसदमा हुन्न त्यसैले जनताको आवाज सन्तोषजीले बोल्ने हो । यो माइक मेरो, आवाज जनताको अनि बोली सन्तोषजीको ।’ डा.रिजालको यो कुरा सुनेपछि सन्तोषले भने- ‘म सधैं जनताको काम गर्ने मान्छे हुँ । अब जनताको आवाज बोल्ने ठाउँमा जादैछु,यो माइकले मलाई झन् जिम्मेवारी थपिएको महसुस भयो ।’
डा.मिनेन्द्र र सन्तोषको बिचमा माइक हस्तान्तरण र जिम्मेवारी आदानप्रदान भएको हेरीरहेका कार्यक्रमका सभापति डा.सुबास प्याकुरेल र संचालक हरिबोल भन्डारीले पनि अर्को सरप्राइज गर्न भ्याए ।
उनीहरुले पनि विश्व सम्पदा सुचीमा रहेको बौद्धनाथ स्तुपाको मुर्ति हातमा थमाउदै पर्यटन प्रवर्द्धन र यस क्षेत्रको पुर्वाधारमा ध्यान दिइरहन डा.मिनेन्द्रलाई जिम्मेवारीको भारी बोकाइदिए ।