व्यक्तिको कुरा गरेर पार्टीलाई अन्याय नगरौं: डा.रिजाल
काठमाडौं, २६ कात्तिक । नेपाली काङ्ग्रेसका पुर्व केन्द्रिय सदस्य डा.मिनेन्द्र रिजालले कोही कसैलाई अन्याय भयो भनेर पार्टीलाई अन्याय गर्न नहुने बताएका छन् । उनले जसलाई जति अन्याय भएपनी मंसिर ४ पछि त्यसको हिसाबकिताब गर्ने तर अहिले सबै जुटेर काङ्ग्रेसलाई जिताउने अभियानमा लाग्न सबैसँग आग्रह गरे ।
पुर्व मन्त्री समेत रहेका डा.रिजालले भौतिक संरचनाको विकास, पर्यटन, कृषि, हस्पिटल र शिक्षामा नेपाली काङ्ग्रेसले धेरै काम गरेको भन्दै विकास, समृद्धि र सुशासनमा काङ्ग्रेसले जनताको पक्षमा अझै धेरै गर्न बाँकी रहेको बताए ।
नेपाली काङ्ग्रेस काठमाडौ क्षेत्र नम्बर-३ चुनाव परिचालन तथा प्रचारप्रसार समितिले आयोजना गरिएको ‘बुद्धिजीवीसँग उम्मेदवार’ कार्यक्रममा बोल्दै डा.रिजालले बामपन्थी पार्टीहरुको झगडाले पनि नेपाली काङ्ग्रेसले गर्न चाहेका कयौं कामहरु गर्न नपाएको बताए । काङ्ग्रेसले विकास, समृद्धि र सुशासनमा सधैं ध्यान दिएको भएपनि कहिले राजा ज्ञानेन्द्र र कहिले केपी ओलीले जनताको संसद भंग गर्ने दुष्प्रयास गरेको कारण देश पछाडि परेको बताए ।
डा.रिजालले देश विकाससँगै संविधान र लोकतन्त्रको रक्षाका लागि नेपाली काङ्ग्रेसका उम्मेदवारले जित्नुको विकल्प नभएको बताए । उनले बामपन्थीलाई लोकतान्त्रिकरण गर्न र हिंसामा रहेकालाई शान्ति प्रक्रियामा ल्याउन काङ्ग्रेसको महत्त्वपूर्ण भुमिका भएको भन्दै गठबन्धनका नेतालाई समेत खड्गप्रसाद ओलीसँग भन्दा काङ्ग्रेससँग सहकार्य गर्दा फाइदा भएको जिकिर गरे ।
उनले राज्य प्रणालीमा खोट भएका कारण कतिपय काम चाहेर पनि गर्न नसकेको भन्दै कहि कतै त्रुटी भएमा त्यसलाई सच्याएर अगाडी बढ्न काङ्ग्रेस तयार रहेको बताए । कार्यक्रमको सभापतित्व एवं स्वागत गर्दै डा.सुवास प्याकुरेलले उम्मेदवारहरुलाई संसद विघटनको काम गर्दै नगर्नुहोस् भन्दै चुनावको समयमा मात्रै होइन सधैं जनतासँग जोडिन सुझाव दिए ।
कार्यक्रममा उठेका विषयको जवाफ दिनेक्रममा प्रतिनिधि सभा उम्मेदवार सन्तोष चालिसे तथा प्रदेश सभा उम्मेदवार छिरिङ दोर्जे लामा र बिमल ठकुरीले जनता सङ्ग जोडिएर काम गर्न आफुहरु प्रतिबद्ध रहेको बताए । चुनाव परिचालन तथा प्रचारप्रसार समिति संयोजक हरिबोल भण्डारी र नेपाली काङ्ग्रेस काठमाडौ-३ का कार्यबाहक क्षेत्रीय सभापति श्रीराम चालिसेले नेपाली काङ्ग्रेसका उम्मेदवारलाई जिताउन कुनै कसर बाँकी नराखिने भन्दै हरेकको घरदैलोमा पुगेर मत माग्ने र गुनासो सुन्ने काममा आफुहरु व्यस्त रहेको बताए ।
सोही अवसरमा नेकपा एमाले, नेकपा (एकीकृत समाजवादी) र नेकपा माओवादीका करिब १०० जनाले आ-आफ्नो पार्टी परित्याग गरि नेपाली काङ्ग्रेस प्रवेश गरेका थिए ।