मिलर र मार्क्रमको शानदार ब्याटिङमा दक्षिण अफ्रिकाले भारतलाई हरायो

काठमाडौं, १४ कात्तिक । अस्ट्रेलियामा जारी आइसिसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत आइतबार भएको ‘लो स्कोरिङ थ्रिलर’मा दक्षिण अफ्रिका विजयी भएको छ । दक्षिण अफ्रिकाले भारतलाई ५ विकेटले पराजित गरेको हो ।

भारतले दिएको १३४ रनको लक्ष्य दक्षिण अफ्रिकाले २ बल बाँकी छँदा ५ विकेटको क्षतिमा भेट्टायो । उसका लागि डेभिड मिलरले अविजित रहँदै ५६ रन बनाए । त्यसैगरी एइडेन मार्क्रमले ५२ रन बनाए ।

२४ रनमा ३ विकेट गुमाएपछि दक्षिण अफ्रिकाका यी दुई ब्याटरले ७६ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए । भारतका अर्शदीप सिंहले २ विकेट लिँदा मोहम्मद शामी, हार्दिक पान्ड्या र रवि आश्‍विनले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो । भारतका लागि सूर्यकुमार यादवले सर्वाधिक ६८ रन बनाउनुबाहेक अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् ।

भारतलाई सस्तो स्कोरमा रोक्‍न दक्षिण अफ्रिकाका लुंगी एङ्गिडीले ४ विकेट लिए । त्यसैगरी वायन पार्नेलले ३ र एनरिक नोर्त्जेले १ विकेट लिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय