एमालेले १०५ सिट जित्छ: ओली

झापा, १३ कात्तिक । नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्सिर ४ पछि एमालेको मात्रै बहुमतको सरकार बन्ने ठोकुवा गरेका छन् । उनले एमाले एक्लैले प्रत्यक्ष तर्फ १०५ सिट र समानुपातिकमा ५० सिट जित्ने हिसाब समेत बताएका छन् ।

चुनावी कार्यक्रम र भेटघाटका लागि गृह नगर झापाको दमकमा रहेका ओलीले प्रतिनिधिसभासंगै प्रदेशमा पनि आफ्नै सरकार हुने बताए । दमकमा आयोजित चुनावीसभा मै पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले काङ्ग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीलाई चुनौती समेत दिए । ‘प्रत्यक्षमा एक सय पाँच र समानुपातिकतर्फ ५० सिट एमालेले जित्छ’ ओलीले भने- ‘बाँकी ६० सिटमा कसले कति जित्छ त्यो चुनावी परिणामले देखिन्छ ।’

अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नं. ५ का विभिन्न कार्यक्रममा सहभागी हुँदै पार्टी कार्यकर्तालाई चुनावी गतिविधि बढाउन निर्देशन दिए । उनले अहिलेको गठबन्धन सरकार सुतेर बसेको र जनतालाई दु:ख दिने बाहेक कुनै राम्रो काम नगरेको आरोप समेत लगाए ।

उनले २०७४ को निर्वाचनमा माओवादीसँग मिलेर झन्डै दुईतिहाइ बहुमत ल्याउन खोजेको प्रसङ्ग उठाउदै यसपटक एक्लैको बहुमत ल्याउने कुरालाई पटक-पटक दोहोर्‍याए ।’विगतको कुराबाट पाठ सिकेर के गर्नुपर्छ तपाईं आफै बुझ्नुस्’, ओलीले कर्याकर्तासँग भने- ‘अहिले हामी एक्लै एक सय ५० सिट भन्दा माथी जित्‍ने योजनासाथ अघि बढेका छौं र जित्छौं पनि ।’

एमालेले झापा ३ र ५ मा मात्रै राप्रपासँग चुनावी तालमेल गरेको छ । झापा क्षेत्र नं. ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन चुनावी मैदानमा छन् । झापा-५ मा एमाले ओली आफैं उम्मेदवार छन् । यसपटक झापा यात्रामा पहिलो सम्बोधन उनले राजेन्द्र लिङ्देनको क्षेत्रमा गरेका थिए । त्यहाँ उनले आम मतदातालाई हलोमा मतदान गर्न आग्रह गरे ।

झापा-३ मा एमालेले टिकट दिनेमा ढुक्क रहेका दुर्गा प्रसाईंले भने टिकट नपाएर राप्रपालाई सघाउने कुरा आएपछि ओलीसँग टाढिन खोजेका छन् । ओलीको झापा यात्रामा उनी कतै देखिएका छैनन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय