भाइटीका भर्सेस् बहिनी टीका !
काठमाडौं, १० कात्तिक । तिहारको टीकालाई भाइटीका मात्रै भनेर हरेक ठाउँमा भन्ने गरिन्छ । कहिलेकाँही भाइटीका मात्रै भनेर दाइटीका वा दाजुभाइ टीका किन भनिदैन ? भनेर प्रश्न पनि उठ्ने गरेको छ ।
तर, सवाल दाजुभाइको मात्रै होइन । एउटै धर्म संस्कृतिभित्र अनि एकैदिन मनाइने चाडपर्व, धर्म, संस्कृति र रीतिरिवाज त झन् एकपक्षीय हुनै सक्दैन । हिन्दु संस्कार अनुसार दसैंमा मान्यजनको हातबाट टीका थाप्ने र आशीर्वाद लिने चलन छ । अनि तिहार चाहिँ दाजुभाइ दिदिबहिनी मिलेर संयुक्त रुपमा मनाउने पर्व हो ।
दाजुभाइ हुनेले दाजुभाइलाई सप्तरङ्गी टीका लगाएर र दाजुभाइ नहुनेले दिदिबहिनी बिचमा टीका र माला साटासाट गरेर पनि यो पर्व मनाउन सकिन्छ । यही मान्यतालाई आत्मसात गर्दै शंकरापुर नगरपालिका-६, काठमाडौका दुई दिदिबहिनीले बिहिबार भाइटीकाको साइत पारेर एक आपसमा टीका र माला साटासाट गरी तिहार मनाए ।
यसरी अनुकरणीय कार्य गरेर समाजलाई सकारात्मक सन्देश दिने दिदिबहिनी हुन् निशा भट्टराई र एलिशा भट्टराई । उनीहरुको यो मायाप्रेम देखेर उनका अभिभावक पनि खुशी देखिन्थे ।
ज्योतिष शास्त्र अनुसार बिहिवार ११:३७ को समयलाई ख्याल गर्दै यी दिदीबहिनीले सबै विधि र प्रक्रिया अनुसार एक आपसमा टीका र माला लगाएर खुसीसँगै समाजमा दाजुभाइ नहुने दिदिबहिनीको लागि समेत तिहारको टीका हुनसक्छ भन्ने सकारात्मक सन्देश दिए ।
नेपाली समाजमा छोरा नै चाहिन्छ भन्ने अन्धविश्वास र ढाेंगी मानसिकता विबिपरित निशा र एलिशाको यो दिदिबहिनी टीकाले समाज रुपान्तरणमा समेत महत्त्वपूर्ण भुमिका खेल्न सक्ने जानकारहरु बताउँछन् ।
हरेक कुरामा छोरा भन्ने हाम्रो समाजले अब तिहारमा भाइटीका सङ्गै दिदिबहिनीको बीचमा पनि ‘तिहार दिदिबहिनी टीका’ हुनसक्छ भन्ने मान्यतालाई स्थापित गर्न आवश्यक भएको निशा भट्टराई बताउँछिन् । ‘हामीले दिदिबहिनी बिचमा टीका लगाउने कुरा नयाँ नहोला तर, भाइटिका भनेर स्थापित एउटा मान्यतालाई चुनौती दिन भाइटीका कै साइतमा त्यही विधि र प्रक्रिया अनुसार दिदिबहिनी टीका सुरु गर्नु चुनौतीसँगै सकारात्मक सन्देश पनि हो’, उनले भनिन् ।
निशा र एलिशाले यो क्रम सुरु गरेको ४ वर्ष भयो । ‘अब सधैं हामी दिदिबहिनी बिच तिहारको टीका साटासाट हुन्छ’, एलिशा भट्टराईले भनिन- ‘समाज रुपान्तरण गर्नुछ भने पहिले आफुबाटै सुरु गरौं भनेर हामी दिदिबहिनीले यो कार्य सुरु गरेका हौं’ ।