माओवादी सह-इन्चार्ज रेग्मी एमालेमा
काठमाडौं, १० कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्ला चितवनका माओवादी सह-इन्चार्ज रमेश रेग्मी एमाले प्रवेश गरेका छन् ।
यस अघि जिल्ला इन्चार्ज यमबहादुर परियार पनि माओवादी छाडेर एमाले प्रवेश गरेका थिए । पार्टी इन्चार्ज र सह-इन्चार्ज दुवै एमालेमा प्रवेश गरेपछि चितवन माओवादी नेतृत्वविहीन भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर रेग्मीसहित माओवादी निकटको प्रेस सेन्टरका केन्द्रीय सचिव प्रल्हाद पोखरेल पनि एमाले प्रवेश गरेको एमालेले जनाएको छ ।
एमाले प्रवेश गरेका रेग्मी माओवादी वागमती प्रदेश कमिटीको सचिवालय सदस्य हुन् । ‘माओवादी केन्द्र ‘दाहाल एण्ड कम्पनी’ को रूपमा विकास भएकोले त्यहाँ बस्दा नेपाली कम्युनिष्ट आन्दोलनलाई थप क्षति र बर्बादी हुने देखेर छाडें’, रेग्मीले भने- ‘प्रचण्ड एन्ड कम्पनी भन्दा एमाले क्रान्तीकारी देखेर म कम्युनिष्ट आन्दोलनको मूलधार एमालेमा समाहित भएको हुँ’ ।
पार्टीलाई सही बाटोमा ल्याउन अन्तरसंघर्ष गरेपनि प्रचण्डले जे भन्छन् त्यही नियम र कानून बन्ने गरेको र व्यक्तिवाद हावी भएको उनको आरोप छ ।