टी२० विश्वकपमा इंग्ल्यान्ड आयरल्यान्डसँग स्तब्ध
काठमाडौं, ९ कात्तिक । अस्ट्रेलियामा जारी आइसिसी टी२० विश्वकपको उपाधि दाबेदारमध्येको एक इंग्ल्यान्डले वर्षाले प्रभावित खेलमा हार व्यहोरेको छ । इंग्ल्यान्डलाई आयरल्यान्डले डिएल मेथडका आधारमा ५ रनले हराएको हो ।
आयरल्यान्डले दिएको १५८ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले १४.३ ओभरमा ५ विकेट गुमाएर १०५ रन बनाएको अवस्थामा वर्षा भएपछि त्यसपछि खेल सुरु हुन सकेन र त्यो अवस्थामा इंग्ल्यान्ड पार स्कोरभन्दा ५ रन पछाडि देखिएको थियो र सोही नतिजा कायम रह्यो ।
इंग्ल्यान्डका डेविड मलानले ३५ रन बनाए भने मोइन अली २४ रनमा अविजित रहेका थिए । आयरल्यान्डका जोसुआ लिटिलले २ विकेट लिँदा बेरी मेकार्थी, फियोन हान्ड र जर्ज डकरेलले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले १९.२ ओभरमा अलआउट हुँदै १५७ रन बनाएको थियो । कप्तान एन्ड्रयु बालबिर्नेले ६२ रन बनाए भने लोरकान टकरले ३४ रन बनाए । इंग्ल्यान्डका मार्क वूड र लियाम लिभिङस्टोनले ३-३ तथा साम करानले २ र बेन स्टोक्सले १ विकेट लिए ।
योसँगै समूह १ मा आयरल्यान्डले पनि अंकको खाता खोलेको छ । न्युजिल्यान्ड, श्रीलंका, इंग्ल्यान्ड, आयरल्यान्ड र अस्ट्रेलियाको २-२ अंक छ भने अफगानिस्तान अंकविहीन छ ।