प्रधानमन्त्रीका सल्लाहकारसहित ५५० जना उम्मेदवारको नाम हट्यो
काठमाडौं, ९ कात्तिक । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहभागी हुनका लागि विभिन्न राजनीतिक दलले पेश गरेको बन्दसूचीबाट ५५० जनाको नाम हटाएको छ । त्यसमा प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोवीन्द परियार पनि परेका छन् ।
परियार नेपाल सरकारको लाभको पद धारण गरेकाले उनको नाम बन्दसूचीमा रहेको भन्दै उजुरी परेको थियो । कविता नेपालीले उनी विरुद्ध उजुरी गरेकी थिइन । परियारको नाम नेपाली काङ्ग्रेसले समानुपातिकतर्फको बन्दसूची पेश गर्दा दलिततर्फको चौथो नम्बरमा थियो ।
यता प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीमा सहभागी हुनका लागि पेश गरेका ६ हजार ४सय ५७ जनामध्ये विविध कारणले अयोग्य ठहरिएका ५५० जनाको नाम हटाउने निर्णय गरेको आयोगले जनाएको छ । जसमा गत स्थानीय निर्वाचनमा सहभागी भई समयमा खर्च विवरण नबुझाइ जरिवानामा परेका ३६९ जना, दोहोरो उम्मेदवारी परेका ६६ जना र उमेर नपुगेका ५२ जना छन् ।
यसैगरी सम्बन्धित प्रदेशको मतदाता नभएका १२ जना, फरक लैङ्गिक पहिचान भएका ३७ जना, कागजात नभएका ६ जना, मतदाता नामावलीमा नाम नभएका ६ जना, लाभको पदमा रहेका १ र कालोसूचीमा रहेका १ गरी ५५० जना बन्दसुचीबाट हटेको आयोगले जनाएको छ ।
जसमा प्रतिनिधिसभाको समानुपातिकतर्फ बन्दसूचीबाट २ सय ३ जना उम्मेदवार रहेका छन । त्यसैगरी प्रदेशसभाको समानुपातिकतर्फ बन्दसूचीबाट हटेका ३ सय ४७ जना उम्मेदवार रहेको आयोगले जनाएको छ ।