डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया पहिलो जीतको खोजीमा
काठमाडौं, ८ कात्तिक । अस्ट्रेलियामा जारी टी२० विश्वकपमा घरेलु टोलीका लागि सुखद सुरुवात हुन सकेन । पहिलो खेलमै गत वर्षको उपविजेता न्युजिल्यान्डसँग ८९ रनको फराकिलो हार व्यहोरेको अस्ट्रेलियालाई सेमिफाइनलको सम्भावना बलियो बनाउन जित्नैपर्ने दबाब रहनेछ ।
मङ्गलबार अस्ट्रेलियाले दोस्रो खेलमा श्रीलंकाको सामना गर्दै छ । खेल अपरान्ह पौने ५ बजेदेखि पर्थमा हुनेछ । श्रीलंकाले भने पहिलो खेलमा आयरल्यान्डलाई हराइसकेको छ ।
न्युजिल्यान्डसँग २०० रन व्यहोरेर जवाफमा १११ रन मात्र बनाएको अस्ट्रेलियाको नेट रनरेट पनि खराब रहेको छ । आजको खेल जितेर अंकको खाता खोल्दै रनरेट पनि सुधार्ने लक्ष्यका साथ अस्ट्रेलिया मैदानमा उत्रिनेछ ।
त्यसैगरी एसिया कप च्याम्पियन श्रीलंका पनि अस्ट्रेलियालाई हराएर सेमिफाइनलको सम्भावनालाई अझै मजबुत बनाउन चाहन्छ ।