निर्वाचन आयोगलाई प्रचण्डको जवाफ: बाजा बजेको मैले सुनिन
काठमाडौं, ७ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगसमक्ष झुट बोलेका छन् ।आचारसंहिता उल्लंघनबारे आयोगले सोधेको स्पष्टीकरणमा अध्यक्ष प्रचण्डले आफुले उम्मेदवारी दर्ताको समयमा बाजा बजेको बारे थाहा नभएको बताएका हुन् ।

उनी उम्मेदवारी दिन पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई र माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सँगै गोरखा गएका बेला बाजागाजासहितको जुलुस उनको पछि -पछि थियो ।

आयोगलाई प्राप्त भिडियोका आधारमा नै आचारसंहिता उल्लंघनबारे स्पष्टीकरण सोधिएको थियो । यद्यपि प्रचण्डले त्यो स्वीकार नै गरेनन् । ‘हामीलाई प्राप्त श्रव्यदृश्यका आधारमा आचार संहिता उल्लंघनमा स्पष्टीकरण सोधेका थियौं । उहाँको स्पष्टीकरण प्राप्त भएको छ,’ आयोगका उपमहान्यायाधिवक्ता गुरु वाग्लेले भने ।
सो स्पष्टीकरणमा पुर्व प्रधानमन्त्री भइसकेका प्रचण्डले पञ्चेबाजा बजेको थाहै नपाएको बताएका छन् । ‘बाजागाजासहित स्थानीय बासिन्दाको उपस्थितिबारे म र हाम्रो पार्टीको तर्फबाट बाजागाजा ल्याउन कुनै पनि किसिमको योजना, निर्देशन र अनुरोध नगरिएको व्यहोरा स्पष्ट गर्न चाहन्छु। बाजगाजाबारे मलाई जानकारीसमेत नभएको स्पष्ट गर्न चाहन्छु’, प्रचण्डले भनेका छन् ।