टी२० विश्वकप: भारत-पाकिस्तान महाभिडन्त आज
काठमाडौं, ६ कात्तिक । अस्ट्रेलियामा जारी आइसिसी टि२० विश्वकपअन्तर्गत आज बहुप्रतिक्षित खेल हुँदै छ । दुई चिरपरिचित प्रतिद्वन्दी भारत र पाकिस्तान सुपर १२ मा आमनेसामने हुँदै छन् । मेलबर्नस्थित मेलबर्न क्रिकेट ग्राउन्डमा दिउँसो पौने २ बजेदेखि खेल सुरु हुने छ ।
यी दुई टोलीको भेट मुख्य प्रतियोगितामा भइरहन्छ । पहिलेका खेलहरुमा भारत पाकिस्तानमाथि हावी रहँदै आएको भएपनि केही समययता भने पाकिस्तानले भारतलाई मात दिन थालेको छ ।
यी दुई टोलीबीच यो एक वर्षको अन्तरालमा दुई मुख्य प्रतियोगिताहरुमा भेट भइसकेको छ । गतवर्षको विश्वकपमा १० विकेटको शानदार जीत निकालेको पाकिस्तानले एक महिनाअघि सम्पन्न एसिया कपमा समूह चरणमा पराजय भोगेपनि महत्वपूर्ण खेलमा भारतलाई हराएर प्रतियोगिताबाट बाहिरको बाटो निश्चित गराइदिएको थियो ।
यी दुई टोली यसपटक पनि एकै समूहमा रहेका छन् । दुई टोलीबीचको खेल रोमाञ्चक हुने देखिन्छ । दुवै टोलीमा उत्कृष्ट खेलाडीहरुको बाहुल्यता रहेका छन् ।
भारतमा केएल राहुल विराट कोहली रोहित शर्मा सूर्यकुमार यादवजस्ता ब्याटर छन् भने बलिङ केही कमजोर देखिएको छ । पाकिस्तानबाट मोहम्मद रिजवान उत्कृष्ट फर्ममा रहँदा कप्तान बाबर आजम फकार जमान शादाब खान र बलिङमा शाहिन अफ्रिदी घातक सावित हुन सक्छन् ।