प्रदेश १ मा धेरै सिट जितेर ओलीलाई जवाफ दिनुस्: देउवा
विराटनगर, ५ कात्तिक । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताले शनिबार विराटनगरमा नेकपा एमालेलाई भन्दा सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई कटाक्ष गरेका छन् ।
उनीहरुले प्रतिगामी सोचाइ भएका ओलीलाई प्रदेश नम्बर १ बाटै कमजोर बनाउने गरी लाग्न गठबन्धनका नेताकार्यकर्तालाई आग्रह गरे । चुनाव लक्षित भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनलाई जिताएर नै ओलीलाई जवाफ दिनुपर्ने बेला आएको बताए । ‘गठबन्धनमा आबद्ध दलका सबै उम्मेदवारलाई जिताउनुपर्यो ओलीलाई जवाफ त्यही हो’ उनले भने- ‘यो प्रदेशमा हाम्रो गठबन्धनले जितेपछि अरु कुरा ओलीजीले बुझ्नुहोला ।’
नेपाली काङ्ग्रेस सभापति समेत रहेका देउवाले एमालेले पनि गठबन्धन गरेको तर, राप्रपासँग गठबन्धन गरेको भएर भन्न नसकेको भन्दै व्यंग्य गरे । ‘उहाँले गठबन्धन गर्न हुने हामीले किन नहुने ?’, देउवाको प्रश्न थियो ।
सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सत्ता गठबन्धन चुनावपछि पनि कायम रहने भन्दै आफूहरुले जितेर बहुमतको सरकार बनेपछि गठबन्धनका सबैले अवसर पाउने बताए । ‘अहिले अवसर नपाएकाहरुलाई राजनीतिक नियुक्ति, संवैधानिक आयोगमा नियुक्ति र राजदूत नियुक्तिमा अवसर दिन सकिन्छ’, उनले भने सत्तारुढ गठबन्धनले बहुमत ल्याएपछी अहिले टिकट नपाएका नेताहरुले अवसरै अवसर पाउने कुरामा ढुक्क हुनुस् ।’
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओली राजनीतिमा बेइमान भैसकेको भन्दै उनको कुरा नपत्याउन आग्रह गरे । उनले ओलीले प्रतिगामी सोच अझै नत्यागेको भन्दै एमालेले पनि ओलीको बदमासी बुझ्न नसक्दा पार्टी नै सकिने अवस्थामा पुग्नसक्ने बताए । उनले ओलीलाइ मधेस बिरोधिको आरोप समेत लगाए ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र पुर्वमहामन्त्री कृष्ण सिटौलाले गठबन्धन आवश्यक थिएन भनेर कसैले भन्न नहुने र गठबन्धनका उम्मेदवार बाहेक अन्त भोट दिनेकुरा सोच्न पनि नपाइने बताए ।
तस्वीरहरु: चन्द्र पौडेल, परेवान्युज