वेस्टइन्डिज विश्वकपबाट बाहिरियो, आयरल्यान्ड ‘सुपर १२’मा
काठमाडौं, ४ कात्तिक । दुईपटकको टी-२० विश्वकप विजेता वेस्टइन्डिज यसपटकको विश्वकप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा आयरल्यान्डसँग ९ विकेटले पराजित भएसँगै वेस्टइन्डिजको यात्रामा पूर्णविराम लागेको हो ।
वेस्टइन्डिजले दिएको १४७ रनको लक्ष्य आयरल्यान्डले १५ बल बाँकी छँदा १ विकेटको क्षतिमा भेट्टायो । पल स्टिर्लिङ ६६ रनमा अविजित रहे भने लोरकान टकर ४५ रनमा अविजित रहे । कप्तान एन्ड्र्यु बालबिर्नेले ३७ रन बनाए । वेस्टइन्डिजका अकिल होसेनले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४६ रन बनाएको थियो । ब्रान्डन किङले ६२ रनको अविजित पारी खेले भने जोन्सोन चार्ल्सले २४ रन बनाए । आयरल्यान्डका गारेथ डेलानीले ३ तथा बेरी मेकार्थी र सिमी सिंहले १-१ विकेट लिए ।
दुवै टोलीलाई जित्नैपर्ने दबाब रहेको खेलमा आयरल्यान्डले सहज रुपमा जीत निकाल्दा सन् २०१२ र २०१६ को संस्करणको विजेता वेस्टइन्डिज भने स्तब्ध बनेको हो ।