देश अनि गठबन्धनको खिचडी
बन्दना पोख्रेल भण्डारीमंसिर ४ मा संघ र प्रदेशको निर्वाचनका लागि उम्मेदवारी दर्ताको काम सकिएको छ । यो दोस्रो संघीय र प्रदेश चुनाव हो । जनताले देशमा गणतन्त्र र संघीयता आएपछि राजनीतिक स्थिरता र सुशासनको अपेक्षा गरेका थिए । जसका कारण पहिलो पटक नेपाली नागरिकले करिब दुई तिहाइको बहुमत दिएर सरकार बनाउन कम्युनिस्ट नामधारी दुई दल(पछि एउटै दल भएका)लाई पठाएका थिए ।
तर नेपाली राजनीतिमा बहुमतले पनि स्थिरता दिन सकेन। राजनीतिमा सुधार नआएका कारण नेताको ध्यान सुशासनतर्फ भन्दा पनि भ्रष्टाचार र कुशासनतर्फ अग्रसर भइरहेको छ । नेताहरूले आफू अनुकूल वातावरण बनाउने र चुनाव जित्ने मात्र लक्ष्य राखेको देखिन्छ । जस अनुरुप अहिलेको गठबन्धन सरकारले चुनावमा पनि गठबन्धनकै रूपमा जाने निर्णय गरी भागबन्डामा उम्मेदवार खडा गरेको छ । यो आवश्यक छ या छैन भन्ने कुरा भन्दा हामी कसरी सत्तामा पुग्न सकिन्छ भन्ने मनोभावना बाहेक अरु केही हुँदै होइन ।
राजनीतिक दलहरू आफ्ना सिद्धान्त देशप्रेमभन्दा पनि परिस्थिति अनुकूलको सिद्धान्त र व्यक्तिगत पार्टीगत लाभमा अभ्यस्त रहन थालेका कारण सबैजसो जनतामा चरम असन्तुष्टि बढिरहेको छ । अब आउँदो ४ मंसिरमा संघ र प्रदेशको निर्वाचनमा पनि एकातिर क्षमताविहीन र वृद्ध नेतालाई बिदाई गर्ने र सक्षम, सबल र युवा नेतालाई निर्वाचित गराउने स्वरुपको नतिजा नआउला भन्न सकिन्न ।
प्रजातन्त्रमा सबल नेतृत्व चुन्ने जनताको दायित्व हो । यदि सही नेतृत्व चुन्न नसके फेरि पनि अर्को पाँच वर्ष पछुताउनु पर्ने अवस्था हुनेछ । वर्तमान राजनीतिक दलका नेतृत्वबाट जनता आजित भइसकेका छन्। जनताले विकल्प खोजेका छन् । विकल्प रोज्ने उत्तम समय चुनाव नै हो ।
मुलुक कुशासन र भ्रष्टाचारको दुष्चक्रमा फसिसकेको बेला चुनाव निष्पक्ष रूपमा सम्पन्न हुन्छ कि नाइ यो पनि एउटा गतिलो प्रश्न बनेको छ गठबन्धनको क्रियाकलाप नियाल्दा । कामचलाउ गठबन्धन सरकारका निर्णयहरु हेर्दा आउने सरकारमाथि अब यो सरकारले बोझ थुपार्न थालेको छ ।
आज हरेक सार्वजनिक पद बिक्रीमा छन । लोकतन्त्रको नाममा उपहास भएको छ । केही समय अगाडिको कुरामै जाऊँ, अर्थमन्त्री जनार्दन शर्माको कर प्रकरण पनि कालो इतिहास हो । राज्यले नचिनेको व्यक्तिले करको हेरफेर गर्छ, राति संविधान र कानुनले नचिनेको व्यक्तिलाई बोलाउँछ । अनि त्यही व्यक्तिलाई फेरि अर्थमन्त्रीमा लिइन्छ । यो राष्ट्रसँग गरिएको गम्भीर धोका र अपराध हो ।
लोकतन्त्र भनेको समानताको पनि विषय हो । यो निर्वाचनको कुरा गर्दा, अहिले गठबन्धनका बारेमा पनि कुरा आएको छ । जनतालाई क्लियर च्वाइस दिनुपर्छ । अहिलेको गठबन्धनले क्लियर च्वाइस दियो त ? यो गठबन्धनसँग कुनै सिद्धान्त छैन । हिजो टाउको काट्ने र काटिनेहरूबीच कसरी सहमति हुन सक्छ ? यो चरम अवसरवादी गठबन्धन हो । खासमा भन्ने हो भने नेपालमा लगानीबिना अत्यधिक नाफा दिने उद्योग नै राजनीति भएको छ ।
नेपालको लोकतन्त्र यस्तो लोकतन्त्र हो, जहाँ नीतिगत भ्रष्टाचार हुन्छ। जसलाई यो वा त्यो बहानामा राजनीतिक दलले प्रोत्साहित गर्दैछन । अहिले नेपाल सिद्धान्त र धर्मविहीन भएको अवस्था छ । यसैगरी अघि बढ्यौं भने अब यो कुहिएको अवस्थामा पुग्नेछ ।
आसन्न निर्वाचनमा पाँचदलीय गठबन्धन कायम रहनु भ्रस्टाचारलाई प्रसय दिनु सिवाय अरु केही होइन । लोकतन्त्रमा यस्तो हुनु हुँदैन । गठबन्धन केका लागि, यिनीहरू प्रधानमन्त्री बन्नका लागि ? लुट मच्चाउनका लागि ? नेपाली जनताले सोच्ने र फैसला लिने समय आएको छ ।
४ मंसिरमा हुने संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गरेर जानु भनेको सिद्धान्तहीन हुनु हो । पाँचदलीय गठबन्धनले एमाले र केपी ओलीलाई हराउनेमात्रै उद्देश्य राख्नुले पनि देशप्रति बफादार नभएको प्रस्ट देखिन्छ ।
यसरी लेखिरहँदा मैले कुनै एक दललाई समर्थन र अर्कोलाई इग्नोर गर्न खोजेकी हैन । मैले केवल देशको भविष्य तपाईं हाम्रो एक भोट्ले निर्धारण गर्ने यो चुनावमार्फत गलतलाई हैन सहीलाई सही ठाउँमा पुर्याऊँ भन्न खोजेकी मात्र हूँ ।
जय देश !