कार्तिक १८ अघि प्रचार गरे उम्मेदवारी रद्द
काठमाडौं, ३१ असोज । निर्वाचन आयोगले कार्तिक १८ भन्दा अगाडि निर्वाचन लक्षित प्रचारप्रसार गरेमा उम्मेदवारी रद्द गर्न सकिने भन्दै दलहरूलाई सचेत गराएको छ । आयोगले आमसभा, गोष्ठी र सेमिनार मार्फत प्रचारप्रसार नगर्नु भन्दै भिडियो सन्देशमार्फत अनुरोध गरेको हो ।
निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज एक भिडियो सन्देश दिदै भनेका छन्- ‘कात्तिक १८ गतेभन्दा अघि आमसभा, गोष्ठी, सेमिनार लगायतका कुनै पनि निर्वाचन प्रचारप्रसार गर्ने नपाइने निर्वाचन आचारसंहितामा स्पस्ट व्यवस्था रहेको छ ।’
राजनीतिक दलका प्रतिनिधि समेतको सहभागितामा बनेको निर्वाचन आचारसंहिताले निर्वाचन हुने दिनभन्दा १७ दिन अगाडीबाट मात्रै निर्वाचन प्रचारप्रसार गर्न पाइन्छ भनेको छ । आगामी मंसिर-४ गते देशभर १६५ निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा र ३३० क्षेत्रमा प्रदेश सभाको निर्वाचन हुदैछ ।
आयुक्त भण्डारीले कात्तिक १८ भन्दा अघि घरदैलो गर्न भने छुट रहेको बताएका छन । तर, त्यस्तो घरदैलो कार्यक्रम गर्दा पनि २५ जनाभन्दा बढी जान पाइने छैन । भण्डारीका अनुसार बाजागाजा बजाउने, नाचगान गर्ने र भोजभतेर लगाउने गरेको समेत उजुरी आएको र ती उजुरीहरू आयोगले छानविन गरिरहेको समेत बताएका छन् ।
यदि आयोगसँग भएको प्रमाण र उम्मेदवारले पेश गरेको प्रमाण मेल खाएन वा पुष्टि भएन भने कारबाही हुने र त्यो भनेको मनोनयन पत्र खारेज पनि हुन सक्छ भनेका छन् ।