टी-२० विश्‍वकप: श्रीलंकामाथि नामिबियाको ऐतिहासिक जीत

काठमाडौं, ३१ असोज । अस्ट्रेलियामा सुरु भएको टी२० विश्‍वकपअन्तर्गत आइतबार सम्पन्‍न समूह ए को खेलमा नामिबियाले ऐतिहासिक जीत निकालेको छ । नामिबियाले श्रीलंकालाई ५५ रनले हराएको हो ।

नामिबियाले दिएको १६४ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंका १९ ओभरमा १०८ रनमा समेटियो । कप्तान दशुन शनकाले सर्वाधिक २९ रन बनाए । भानुका राजापाक्षले २० रन बनाए । नामिबियाका डेभिड विज, बर्नार्ड स्कोल्ज, बेन सिकोङ्गो र जान फ्रायलिंकले २-२ तथा जेजे स्मिटले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६३ रन बनाएको थियो । फ्रायलिंकले ४४ रन बनाउँदा स्मिट ३१ रनमा अविजित रहे । श्रीलंकाका प्रमोद मदुशनले २ तथा महीश थिकसाना, दुश्मान्था चमीरा, चमिका करुणारत्‍ने र वानिन्दु हसरङ्गाले १-१ विकेट लिएका थिए ।

एसोसिएट राष्ट्र नामिबियाले टेस्ट राष्ट्र एवम् एसिया कप च्याम्पियन श्रीलंकालाई हराएर सनसनी मच्चाएको छ र कुनै टोलीलाई पनि कमजोर आँकलन गर्न नसकिने सन्देश दिएको छ ।

हिजै भएको अर्को खेलमा नेदरल्यान्ड्सले युएईमाथि रोमाञ्‍चक जीत निकालेको छ । ११२ रनको सामान्य योगफल पछ्याएको नेदरल्यान्ड्सले १ बल बाँकी छँदा ७ विकेटको क्षतिमा पूरा गरेको थियो ।

आज समूह बी का दुई खेल हुने छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय