गठबन्धन अझै आवश्यक: देउवा, ओनसरीलाइ मन्त्री बनाउँछु: प्रचण्ड

काठमाडौं, ३० असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको गठबन्धन चुनाव लड्न र जित्नको लागि मात्रै नभएको बताएका छन् । उनले प्रतिगमनका विरुद्ध गठबन्धन बनेकोले मंसिर ४ को चुनावले प्रतिगामीलाई परास्त गरेपछि मात्रै गठबन्धनका विषयमा थप छलफल हुने बताए ।

प्रतिनिधिसभा काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२का उम्मेदवार परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभालाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका सभापति समेत रहेका देउवाले कसैलाई सांसद वा मन्त्री बनाउन मात्रै गठबन्धन गरेको भन्ने प्रचार झुठो भएको जिकिर गरे ।

उनले प्रतिगमनका विरुद्ध सबै एक ठाउँमा उभिने बेला आएको र त्यसैका लागि गठबन्धन बनाएर जानुपरेकोमा जोड दिए । सभापति देउवाले आफ्नो पार्टी भित्रका उम्मेदवार र गठबन्धन दलका उम्मेदवार सबैलाई मत दिन आग्रह गर्दै कुनैपनी आग्रह, पुर्बाग्रह र शंकुचित नहुन आव्हान गरे ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमन पुर्ण रुपमा परास्त नभइसकेकाले गठबन्धनको आवश्यकता अझै बढेर गएको बताए । उनले गठबन्धनका उम्मेदवारलाई भोट दिन कुनै काङ्ग्रेस वा कम्युनिस्टको चुनाव चिन्हलाई हेरेर भन्दा पनि लोकतन्त्र सुदृढ गर्न बाकी छ भन्ने बुझेर मत खसाल्न आग्रह गरे ।

अध्यक्ष प्रचण्डले ‘शेरबहादुरजी, माधवजी र मलाइ रुख, हसिया हथौड़ा र कलममा भोट हाल्न कुनै आपत्ति नहुने तर तपाईंहरुलाई त्यस्तो होला र ?’ भन्दै कार्यकर्तालाई प्रश्न समेत गरे । उनले ओनसरी घर्ती क्षमता भएको महिला नेतृ भएको र विगतमा सभामुख भएर राम्रो काम गरेको नबिर्सन आग्रह गर्दै यदि काठमाडौं-२ का जनताले उनलाई सांसद बनाएपछि आफुले मन्त्री बनाएर पठाउने समेत बताए । ‘तपाईंहरुको जिम्मा सांसद बनाउने मेरो जिम्मा विकास गर्ने मन्त्री बनाएर पठाउने’- अध्यक्ष प्रचण्डले भने- ‘यो उधारो होइन पक्का हो, तपाईं सबैजना ढुक्क भए हुन्छ’ ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले यो गठबन्धनको आवश्यकता र ओनसरी घर्तीको उम्मेदवारी किन ? भन्ने विषयमा धेरै व्याख्या आवश्यक नभएको तर, समग्र विकासको लागि यहि टिमले जित्नुको विकल्प नै नभएको बताए । आफुले यो क्षेत्र छाडेर रौतहट गएकोमा गुनासो नगर्न आग्रह गर्दै उनले भने- ‘म भन्दा पनि धेरै जनताको भावना बुझेको नेतृत्वलाई उम्मेदवार बनाएका छौं, तपाईंहरुले जिताएर पठाउनुस अरु जिम्मा हामी लिन्छौं ।’

प्रतिनिधि सभा उम्मेदवार तथा पुर्व सभामुख ओनसरी घर्तीले जोरपाटी-मुलपानी सडक, क्रिकेट रंगशाला, कोटेश्वर जाम हटाउने, नाङ्लेभारेमा कृषिको काम गर्ने, करिडोर निर्माण, महिलालाई स्वरोजगार बनाउने कार्यामा आफुले जोड दिने बताइन । उनले यस क्षेत्रका जनताको एक कल फोन वा एउटा मेसेज मात्रैले पनि आफुलाई काम गर्ने उर्जा मिल्ने र कुनैपनी समयमा गुनासो सुन्न आफू तयार रहेको बताइन ।

नेपाली काङ्ग्रेसका नेता एवं गठबन्धनको तर्फबाट प्रदेश सभा(क)का उम्मेदवार ध्रुव केसीले अहिलेको चुनाव गठबन्धनले जित्नुको विकल्प नभएको भन्दै प्रतिगामीलाई परास्त गर्न सबै एकजुट हुनुपर्ने औंल्याए ।

एकीकृत समाजवादीका नेता तथा निर्वाचन क्षेत्र प्रदेश (ख) का गठबन्धन उम्मेदवार भरतप्रसाद फुयालले गठबन्धन अहिलेको आवश्यकता भएकोमा जोड दिए ।

सोही अवसरमा कार्यक्रमका सभापति तथा नेपाली काङ्ग्रेस काठमाडौ निर्वाचन क्षेत्र नम्बर-२ का सभापति कबिर शर्माको संयोजकत्वमा नेपाली काङ्ग्रेस,नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका जिल्ला,क्षेत्र,प्रदेस तथा विभिन्न इकाइ र जनप्रतिनिधि समेतको सहभागीतामा निर्वाचन परिचालन समिति गठन र घोषणा समेत गरिएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय