एमाले देउवा जिताउन तयार भएपछि शीर्ष चार नेता सुरक्षित !

काठमाडौं, २९ असोज । नेकपा एमालेले अन्ततः नेपाली काङ्ग्रेस वीपीका उपसभापति कर्ण मल्ललाई गरेको समर्थन फिर्ता लिएपछि डडेल्धुराको राजनीतिको हिसाब पनि फेरिएको छ ।

नेपाली काङ्ग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा उम्मेदवार रहेको डडेल्धुरामा देउवाकै पुर्व सहकर्मी कर्ण मल्ल नेपाली काङ्ग्रेस वीपीबाट उम्मेदवार छन् । उम्मेदवारी दिने दिनदेखि फिर्ता लिने समय सम्म उनलाइ नेकपा एमालेले समर्थन गरेको थियो ।

यसरी हेर्दा काङ्ग्रेस सभापति देउवालाई कर्ण मल्लले चुनावमा धक्का दिन सक्ने अनुमान पनि राजनीतिक बृत्तमा गरिएको थियो । तर, सभापति देउवा र एमाले अध्यक्ष केपी ओलीको टेलिफोन संवादपछि मल्ललाई गरेको समर्थन एमालेले फिर्ता लिएको छ ।

‘एमालेले आकस्मिक रुपमा लिएको यो निर्णयले देउवा अब सुरक्षित जोनमा छन् भन्नेमा शंका छैन’, एमालेका एक नेता भन्छन्- ‘एमाले, काङ्ग्रेस, माओवादी र समाजवादीका शीर्ष नेता सुरक्षित राख्‍नेमा मुल नेतृत्व मिलेको देखियो’ ।

उनले भनेजस्तै देउवा जस्तै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पनि झापा ५ मा सुरक्षित छन् । उनको मत भार हेर्दा गठबन्धनको भन्दा धेरै छ । त्यसमा राप्रपाको मत समेत ओलीलाई जाने भएपछि ओलीको प्रतिनिधिसभा सदस्य र पार्टीले सरकार बनाउन सके प्रधानमन्त्री बन्ने बाटो लगभग क्लियर भैसक्यो ।

यता नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पनि बाटो क्लियर छ । चितवनमा डर देखेर गोरखा पुगेका प्रचण्डको प्रतिस्पर्धीसँगको फरक मत नै ५० हजार भन्दा बढी छ । स्थानीय निकायको मतलाई हेर्दा गोरखामा नेकपा एमाले कमजोर छ ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको पनि चुनाव जित्ने पक्का जस्तै भएको स्थानीय नेताकार्यकर्ता बताउँछन् । काठमाडौं-२ छाडेर रौतहट क्षेत्र नम्बर १ पुगेका नेपालले सहजै जित्नेगरी गठबन्धनको मत देखिन्छ । स्थानीय निर्वाचनको मत परिणाम हेर्दा यो क्षेत्रमा गठबन्धनको मत धेरै छ ।

त्यसमा पनि अध्यक्ष नेपालको पार्टीले स्थानीय निकाय जितेको र पछिल्लो समय एमाले नेता प्रभु शाहको विद्रोहले पनि नेता नेपाललाई फाइदा पुग्ने देखिन्छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय