काठमाडौं-१ मा हुनेछ महाभिडन्त

काठमाडौं, २९ असोज । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर-१ महाभिडन्तको पर्खाइमा रहेको छ ।

यो निर्वाचन क्षेत्रको प्रतिनिधिसभामा देशभरको १६५ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा धेरै उम्मेदवार भएको क्षेत्र हो । यहाँ प्रतिनिधिसभामा सत्ता गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंह उम्मेदवार छन् । उनी २०४६ सालका सर्वोच्च कमान्डर तथा नेपाली काङ्ग्रेसका नेता स्व.गणेशमान सिंहका सुपुत्र हुन् ।

२०७४ सालको निर्वाचनमा सिंहले त्यो बेलाको साझा पार्टीका अध्यक्ष(हाल राप्रपा उपाध्यक्ष) रविन्द्र मिश्रलाई झिनो मतले हराएका थिए । यसपटक पनि चुनाव जित्नेमा ढुक्क देखिएका नेता सिंहले घर-घर पुगेर भेटघाट र कोठे बैठक सुरु गरिसकेका छन् ।

यसैगरी अघिल्लो पटक प्रकाशमानसँग पराजित भएका रविन्द्र मिश्र काठमाडौं-१ मै फेरि उम्मेदवार छन् । साझा पार्टी छाडेर रविन्द्र मिश्रले यसपटक राप्रपाको तर्फबाट उम्मेदवारी दिएका छन् । केही समय अघि मात्रै राप्रपा प्रवेश गरेर उपाध्यक्ष भएका मिश्र चुनावी नतिजा आफ्नो पक्षमा आउनेमा ढुक्क छन् ।

यसैगरी नेकपा एमालेले पार्टीका युवा नेता किरण पौडेललाई चुनावी प्रतिस्पर्धामा उतारेको छ । काठमाडौं-१ नेकपा एमालेको सबभन्दा कमजोर उपस्थिति भएको क्षेत्र हो । तर, यसपटकको निर्वाचन जित्नेमा एमाले आशावादी छ । एमालेले मिश्रलाई सघाउन सक्ने अड्कलबाजी भैरहदा आफैं चुनाव जित्‍ने अठोट लिएर उम्मेदवारी दिएकोले भिडन्तमा एमाले पनि कमजोर देखिदैंन ।

यता स्वतन्त्र अभियान सुरु गर्दै भ्रष्टाचार र महँगीविरुद्धको सडक आन्दोलनबाट उदाएका युवा पुकार बमले पनि काठमाडौं-१ बाट नै उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगले चुनावी कार्यक्रम सार्वजनिक गर्नुअगाडी देखि नै समर्थक लिएर तयारीमा लागेका बमले यसपटक रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौ-१ मा उम्मेदवारी दिएका हुन् ।

पुरानो भनिएका पार्टीको पक्षमा नतिजा जान नदिने मुडमा रहेका युवाको साथ लिएर बमले चुनाव जित्न सक्ने विश्लेषकहरुको बुझाइ छ । उनलाई स्वतन्त्र अभियान चलाइरहेका युवाको समुहले समेत साथ दिएको देखिन्छ ।

यही क्षेत्रबाट यसपटक नेपाल प्रहरीका पूर्वडिआइजी रमेश खरेल समेत चुनावी भिडन्तमा छन् । सुशासनको मुद्दा उठाउँदै आएका खरेलले घरदैलो अभियान सुरु गरिसकेका छन् । काठमाडौं-१ का जनताको मन जितेर मत पाउनेमा खरेल ढुक्क देखिन्छन् ।

यी सबै उम्मेदवारलाई हेर्दा चुनावी नतिजा कसको पक्षमा जान्छ भन्ने अड्कलबाजी भए पनि ठोकुवा गर्ने अवस्था छैन । यसपटक काठमाडौं क्षेत्र नम्बर-१ को चुनावी नतिजा निकाल्न उम्मेदवारहरुको भिडन्त मात्र होइन महा-भिडन्त हुने पक्का छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय