पाकिस्तानलाई एक रनले हराउँदै श्रीलंका फाइनलमा
काठमाडौं, २७ असोज । श्रीलंका महिला एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहिबार दिउँसो भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई एक रनले हराउँदै श्रीलंका उपाधिनजिक पुगेको हो ।

जीतका लागि १२३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले पूरा २० ओभर खेल्दै ६ विकेट गुमाएर १२१ रन मात्र बनाउन सक्यो । कप्तान बिस्माह मरुफले ४२ रन बनाए पनि टोलीलाई जीत दिलाउन पर्याप्त रहेन ।

त्यसैगरी निदा दारले २६ रन बनाइन् । श्रीलंकाकी इनोका रनाविराले २ विकेट लिँदा सुगन्दिका कुमारी र कविसा दिल्हारीले १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२२ रन बनाएको थियो । हर्षिता माधविले ३५ रन बनाउँदा अनुस्का सञ्जिवनीले २६ रन बनाइन् । पाकिस्तानकी नस्रा सन्धुले ३ विकेट लिँदा अइमन अनवर, निदा दार र सदिका इकबालले १-१ विकेट लिए ।
योसँगै उपाधिका लागि श्रीलंका र भारत भिड्ने पक्का भएको छ । आजै विहान सम्पन्न पहिलो सेमिफाइनलमा भारतले थाइल्यान्डलाई हराएर फाइनलमा स्थान बनाएको थियो ।