विकास र समृद्धिलाई जनतासँग जोड्न श्रीरामको उम्मेदवारी
प्रतिक भट्टनेपाली राजनीतिमा लामो समय बिताएका धेरै नेताले भन्ने गरेको शब्द हो म जनताको सेवा गर्न राजनीति गर्दैछु । अझै कतिपय व्यक्तिले त आफुले कुनै लोभ, मोह र सम्पत्ति कमाउने उदेश्यले राजनीति नगरेको भनेर पनि स्पस्टिकरण दिइरहन्छन् ।
साँच्चै समाजमा त्यस्ता पात्र नभएको चाहिँ होइन । केही असल नियतले जनताको सेवा गर्ने भनेरै राजनीतिमा लागेर जेल नेल सहेर आएका पनि छन् । तर, तिनको राजनीति पद, पैसा र पावर हुनेले दुरुपयोग गरिरहेको पनि प्रशस्त उदाहरण नभएका होइनन् ।
अनि राजनीतिमा केही यस्ता पात्र छन् जसले सधैंभरी पार्टी, सिद्धान्त र विचारको कुरामा आफुलाई अब्बल बनाउँदै लगे । सधैंभरी पार्टीको काममा दिनरात नभनी खट्ने तर त्यसको बदलामा पार्टीबाट अवसर लिएनन् । त्यस्तै पात्र मध्येका एक असल राजनीतिकर्मी हुन् श्रीराम लामिछाने ।
२०४२ सालमा चाबहिलको पशुपति मित्र माध्यामिक विद्यालयबाट एसएलसी गरेका लामिछाने २०४४ सालदेखि राजनीतिमा छन् । तत्कालिन अवस्थामा नविन्द्रराज जोशी शंकरदेव क्याम्पसको नेपाल विद्यार्थी संघको महामन्त्री हुँदा त्यहीँबाट राजनीति सुरु गरेका लामिछाने २०४८ को आम निर्वाचनमा नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद भट्टराईको निर्वाचन क्षेत्रमा सक्रिय भएर प्रचारप्रसारमा लागेका थिए ।
राजनीतिलाई कहिले पनि आफ्नो फाइदाको लागि प्रयोग नगरेका श्रीराम नेपाल विद्यार्थी संघको जिल्ला सदस्य, जिल्लाको पदाधिकारी, केन्द्रिय सदस्य हुँदै केन्द्रिय पदाधिकारी समेत भए । २०५५ सालमा नेविसंघको केन्द्रिय सदस्य भएका लामिछाने २०५९ मा किशोरसिंह राठौर केन्द्रिय अध्यक्ष हुँदा केन्द्रिय कोषाध्यक्ष भए । त्यसपछि भने उनले विद्यार्थी राजनीति बाट पार्टी राजनीतिमा पाइला अगाडी बढाए ।
तत्कालीन अवस्थामा उनी नेपाली काङ्ग्रेस प्रजातान्त्रिकको क्षेत्रीय उपसभापति भएर काम गरे । जुन समयमा हालका पार्टी महामन्त्री गगन थापा पनि सोही क्षेत्रमा उपसभापति थिए । पार्टीका साथीहरूबिच लोकप्रिय भएकै कारण २०६७ सालमा श्रीराम पार्टीको महासमिति सदस्यमा निर्वाचित भए ।
पार्टीको हरेक राजनीतिक आन्दोलनमा होस् वा पार्टी विस्तारमा खटेर लाग्ने श्रीराम हाल नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनिधि छन् । उनले पार्टी राजनीति सँगै विद्यालयमा शिक्षा सुधारको काम पनि गरेका छन् । श्रम राष्ट्रिय माविको ८ बर्ष सम्म व्यावस्थापन समिति अध्यक्ष भएर शैक्षिक गुणस्तर वृद्धिको लागि अभियान चलाए ।
राजनीति र समाजसेवीको रूपमा काम गर्दै आएका श्रीरामले यसपटक आफ्नो अनुभव र राजनीति दक्षतालाई संसदसम्म पुर्याउने तयारी थालेका छन् । यसका लागि उनी यसपटक काठमाडौ क्षेत्र नम्बर-४ प्रदेश (क) बाट बागमती प्रदेश सभामा नेपाली काङ्ग्रेसको तर्फबाट गठबन्धनको साझा उम्मेदवार छन् । उनको चुनावी एजेन्डा भनेकै विकास, समृद्धि र जनताको लागि प्रत्यक्ष सेवामा सरलता भन्ने रहेको छ ।
‘जनताको काम गर्छु भनेर भोट माग्नेभन्दा पनि जनताको दैनिक जीवनसँग जोडिएका विषयमा सधैं साथमा हुने कुरा मुख्य हो’, उनले परेवान्युजसँग भने- ‘स्थानीय टोलको समस्या भनेको शिक्षा, स्वास्थ्य, खानेपानी, बाटो, बिजुली, ढल र फोहोर व्यवस्थापन मुख्य हो । जनताको दैनिक जीवनमा आउने यस्ता कुरामा साथ दिदै अन्य विकास परियोजना र समृद्धिको कुरा सहज बन्नेछ’ ।
जनताको सामान्य कुरामा साथ नदिने तर ठुला-ठुला विकासका हावादारी गफ गर्ने परिपाटीले राजनीतिक दल र नेताहरूलाई जनताले हेरिरहेको भन्दै लामिछानेले आफुले जहिले पनि पूरा गर्न सकिने कुराको मात्रै जनतासँग बाचा गर्ने बताए ।
अहिले जनताले भाषणमा भन्दा पनि व्यवहारमा सरल र असल नेता खोजिरहेको र त्यसमा आफू प्रतिबद्ध भएर जनताको माझमा आएको भन्दै उनले जनताका कुरालाइ सडकदेखि सदन(संसद भवन) सम्म पुर्याउन आफू लागिपर्ने बताए ।