एमालेका ५ केन्द्रिय नेतालाई कारवाही हुने
काठमाडौं, २५ असोज । पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध बागी उम्मेदवारी दिने नेकपा एमालेका ५ जना नेता कारवाहीमा पर्ने भएका छन् । भोलिसम्म उम्मेदवारी फिर्ता नलिए उनीहरु कारवाहीमा पर्नेछन् ।

यसरी कारवाहीमा पर्ने नेतामा स्थायी समिति सदस्य तथा पुर्वमन्त्री घनश्याम भुसाल, स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री प्रभु शाह, केन्द्रिय सदस्य एव पूर्वसांसद गङ्गा चौधरी, कुन्दन कुसवाहा र बद्मी क्वारा छन् । भुसालले रुपन्देही, शाहले रौतहट, चौधरीले दाङ तथा कुसवाहले प्रदेश सभामा रौतहट बाटै र क्वाराले डोल्पाबाट बागी उम्मेदवारी दिएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रभु शाह मधेस प्रदेशबाट एमाले सिध्याउन अरु कसैबाट परिचालित भएको आरोप लगाएका छन् । शाहले संकास्पद व्यवहार गरिरहेको सुचना पाएर पनि नपत्याउँदा यो अवस्था आएको अध्यक्ष ओलीको भनाइ छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी र स्वतन्त्रका रुपमा उम्मेदवारी दिएपछि उनीहरूको नाम पार्टीको अभिलेखबाट हटाउन लागिएको हो ।
प्रभु शाहले बागी नभई स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् । मधेस प्रदेशका १७ ठाउँमा प्रभु शाहको टिमले उम्मेदवारी दिएको दावी गरेको छ । पार्टीको कारबाहीबारे केही जानकारी नभएपनी आफू एमालेको कुनै साङ्गठनिक तहमा अब नरहेको बताएका छन् । उनले एमालेमा रहेका पूर्वमाओवादी नेता सबैको अवस्था दयनीय र गुमनाम रहेको समेत बताएका छन् ।
यता एमालेले भने भोलिसम्म उम्मेदवारी फिर्ता नगर्ने सबै नेतालाई स्पष्टिकरण समेत नसोधी सिधै उनीहरुको नाम पार्टीको अभिलेखबाटै हटाउने तयारी गरेको बुझिएको छ ।