शिक्षा र स्वास्थ नि:शुल्क हुनुपर्छ भन्दै भक्तको उम्मेदवारी

प्रतिक भट्ट

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा झन्डै ६ हजार उम्मेदवार चुनावी मैदानमा छन् । त्यसमध्येका एक उम्मेदवार हुन जनमत पार्टीका नेता भक्तबहादुर क्षेत्री ।

काभ्रे जिल्लाको कात्तिके देउराली स्थित ज्यामिरेमा २०१९ भदौ ८ मा जन्मेका क्षेत्रीले काठमाडौं क्षेत्र नम्बर-३ प्रदेश (क) बाट उम्मेदवारी दिएका छन् । उनी डा.सिके राउत नेतृत्वको जनमत पार्टीको ‘माइक’ चुनाव चिन्ह लिएर उठेका छन् ।

बुबा इन्द्रबहादुर क्षेत्री र आमा रणकुमारी क्षेत्रीबाट जन्मेका भक्तलाई काले खत्रीको सन्तान भनेर पनि चिनिन्छ । उनले आफुलाइ काले खत्रीको सन्तान भन्दा गर्व हुने सुनाए । २०३८ सालमा पञ्‍चायती व्यवस्था हुँदा पनि उनले गाउँमा स्कुल खोल्ने अभियान चलाए । काभ्रेको ज्यामिरे तल्लो चौरमा स्कुल स्थापना गरेर आफुलाइ शिक्षासेवी र समाजसेवीको रुपमा चिनाएका भक्तले अहिले चुनावी एजेन्डा नै ‘शिक्षा र स्वास्थ निशुल्क’ भनेर अगाडी सारेका छन् ।

राजनीतिक रुपमा एमालेनिकट भएर अगाडि बढेका भक्तले काठमाडौं आएपछि नेपाली काँग्रेसको राजनीति गरे । काठमाडौं आउनु अगाडि २०५१ सालमा काभ्रेमै अर्को स्कुल बाल गणेश प्रावि स्थापनामा उनको भुमिका रह्यो । त्यसपछि काठमाडौ आएर जोरपाटी-२ हालको गोकर्णेश्वर-५ मा स्थायी बसोबास गरेका भक्तले यहाँको विकासमा पनि आफुलाई चिनाए ।

सरिता गिरी मन्त्री हुँदा ६ लाख बजेट ल्याएर बाटो निर्माण सुरु गरेका उनले नेपाली काँग्रेसका नेताहरू चक्रबहादुर ठकुरी, सन्तोष चालिसे र दिपक रिसालसँग पनि विकासमा सहकार्य गरेको सुनाए ।

तर, राजनीतिमा पुराना पार्टीले सधैं जनता झुक्याउने एजेन्डा मात्रै ल्याउने गरेपछि एक वर्षअघि उनी जनमत पार्टीमा लागेको बताउँछन् । पार्टी नेता हरेन्द्र चौधरी मार्फत उनी जनमत पार्टी प्रवेश गरेका हुन् । उनको अहिलेको एजेन्डा भनेको स्वास्थ र शिक्षा निःशुल्क सँगै देशभरका अस्थायी शिक्षकलाई स्थायी गर्ने र सरकारी जमिन मिचेर भाडा असुलेर खाने हरुको नक्सा हेरेर कारवाही गर्ने रहेको छ ।

उनले आफुले चुनाव जितेपछि निमुखा, असहाय र अशिक्षितलाई सीप सिकाउने र रोजगारी दिने योजना समेत सुनाए । सामाजिक कार्यकै लागि उनले गोपाल गौरी प्रतिष्ठान नेपालको आजिवन सदस्य भएर काम गरेको र अब पनि जनताको काम गर्न जस्तोसुकै परिस्थिति सामना गर्ने बताए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय