देशभर ५ हजार ९१७ उम्मेदवार
काठमाडौं, २४ असोज । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ५ हजार ९ सय १७ जनाको उम्मेदवारी परेको छ । आइतबार देशभरका निर्वाचन कार्यालयमा राजनीतिक दल र स्वतन्त्र गरि उक्त संख्यामा उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार प्रतिनिधिसभाको सदस्यका लागि २ हजार ४ सय ९४ जनाको उम्मेदवारी परेको छ । जसमध्ये २ हजार २ सय ६१ पुरुष र २ सय ३३ महिलाको उम्मेदवारी परेको छ ।

यसैगरी प्रदेशसभातर्फ प्रतिनिधिसभाको भन्दा झन्डै एक हजार बढीले उम्मेदवारी दर्ता गराएका छन । आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार आइतबार मध्यरातिसम्म अपडेट भएको विवरण अनुसार प्रदेशसभा सदस्यका लागि जम्मा ३ हजार ४ सय २३ जनाको उम्मेदवारी परेको छ।
जसमा ३१ सय २७ पुरुष र २ सय ९५ महिला रहेका छन् । त्यस्तै पुरुष, महिलाबाहेक अन्य एकजनाको पनि प्रदेशसभामा उम्मेदवारी परेको छ ।