चार दशकदेखि पानीपुरीबाट जीविका धान्दै राजकुमार
चन्द्र पौडेलसटर सटर केही नचाहिने बल्ल व्यापार फापो ।
झयाप्प बोक्यो, चोकमा गयो च्याप्प दोकान थाप्यो ।।
आफ्नो त व्यापार रै छैन् घटेको
बुझिएन पोहोरै, लगानी नि थोरै
सबभन्दा राम्रो व्यापार
पानीपुरीको हो.. चटपटेकोे…
विराटनगर, २३ असोज । नेपाली चर्चित लोक गायक पशुपति शर्माको शब्द र लयमा रहेको उक्त गीतका हरफहरु चटपटे व्यवसायीहरुको लागि सान्दर्भिक बनेको छ । विहानै उठेदेखि निकै व्यस्त दैनिकीमा राजकुमार यादवकोे पहिचान पानीपुरीवालाको रुपमा स्थापित भइसकेको छ ।
आफ्नै देशमा जीविकोपार्जन गरि परिवारसँग जीवन बिताइरहेका मोरङ विराटनगर महेशपुर-३ मा बस्ने उनी बन्दहड्ताल होस् या खुल्ला सधै चारपाङ्ग्रे ठेलामा पानीपुरी, चटपटेको मसलाले भरिभराउ पारेर दैनिकजसो विराटनगर-३ सोमबारे चोकको एक छेउमा आफ्नो ठेलासँगै उभिएर चटपटे व्यवसाय गरिरहेका देखिन्छन् ।
करिब चार दशकदेखि स्थानीय कलेजमा चमेना गृह सँगसँगै पानीपुरी व्यवसाय पनि चलाउँदै आएकोमा आफुले गरिरहेको कामप्रति सन्तुष्ट देखिन्छन् । विहानै उठेसँगै उनको परिवारसहित उनी पनि पानीपुरी बनाउन व्यस्त हुन्छन् ।
झण्डै दुई-तीन घण्टा उनलाई पानीपुरी र चटपटेको मसला तयार गर्न लाग्छ त्यसपछि उनी खाना खाएर आफ्नो चारपाङ्ग्रे ठेलामा विहानै बनाएको पानीपुरी चटपटेको मसला र भुजाको बोरा आफ्नो ठेलामा लोड गरेर आफ्नो गन्तव्यतिर लाग्छन् । प्रायः जसो विहानको समयमा चमेना गृहमा व्यस्त रहने अनि दिउँसो ३ बजेदेखि विराटनगर सोमबारे चोकस्थित आफ्नो ठेला व्यवसाय गर्दै आएका यादवलाई राति ८ बजेपछि मात्रै घर फर्कने फुर्सद हुने उनी बताउँछन् ।
सामान्य लेखपढ गरेका उनी सानैदेखि यही व्यवसाय गर्दै आएकाले यसलाई नै निरन्तरता दिएको बताए । पानीपुरी रोज्नुको अर्को कारण नगद कारोबार हो । उनी भन्छन्- ‘दैनिक नगद कारोबार भइरहने व्यवसाय हो यो । व्यवसाय गरेदेखि कहिले पनि कसैसँग पैसाको लागि हात थाप्नु नपरेको उनी बताउँछन् । सरकारी अनुदान तथा सरकारी कार्यक्रमको बारेमा अनभिज्ञता प्रकट गरेका पवन आफुले रुचाएको पेशा गरेकोमा कसैको आश गर्नु नपरेको बताउँछन् ।
पानीपुरी व्यवसाय समस्याका बारेमा सुनाउँदै उनी भन्छन्, ‘घाम, पानी, धुलो, धुँवा ठेला व्यवसायको मुख्य समस्या हो । दिउँसो ३ बजेदेखि बेलुका ८ बजे सम्म उभिएरै व्यापार गर्नुपर्ने बाध्यता रहेको उनी बताउँछन् । हाल यादवको परिवारमा दुई छोरा, बुहारी श्रीमती र आफुसहित ६ जनाको परिवार छ । दैनिक ८ सयदेखि १ हजारसम्म कमाई गर्ने यादव भन्छन्- यो पेशाबाट धेरै सम्पति जोड्न नसकिए पनि छोराहरुलाई राम्रो स्कुलमा पढाउन सकें ।
मेहनत र लगनका साथ काम गरेमा सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरणको रुपमा उनी देखिन्छन् । लाखौं रुपैयाँ खर्च गरेर अर्काको देशमा गई मजदुरी गर्नुभन्दा आफ्नै परिवारसँगै बसेर आफ्नै देशमा सम्मानको पेशा गर्न पाउँदा उनी यतिबेला सन्तुष्ट देखिन्छन् ।
पछिल्लो समय लाखौं युवाहरु विदेशीदैं गएको अवस्थामा स्वदेशमै उद्यम गरिरहेका युवाहरुका लागि स्थानीय सरकारले कार्यक्रम तथा योजना ल्याउन जरुरी देखिन्छ ।