जसपा फुट्न सक्ने, आधा एमाले आधा पुरानै गठबन्धनमा
काठमाडौं, २२ असोज । चुनावी गठबन्धनको कुरालाई लिएर जनता समाजवादी पार्टी विभाजनको डिलमा पुगेको छ । सत्ता गठबन्धनमा सिट कम भएको भन्दै एमालेसँग तालमेल गर्न पुगेको जसपा नेतृत्वसँग सरकारमा सहभागी मन्त्रीलगायत नेताहरू असन्तुष्ट छन् ।
जसपा अध्यक्ष उपेन्द्र यादवले २५ सिट लिएर एमालेसँग तालमेल गर्ने पक्कापक्की गरेपछि केही नेताले पुरानै गठबन्धनबाट चुनाव लड्ने चाहना राखेको स्रोतको भनाइ छ । यदि गठबन्धन छोडेर गएमा हाल जसपाका मन्त्रीहरुको पद रहेपनि कार्यसम्पादनमा प्रधानमन्त्रीको हस्तक्षेप हुनसक्छ ।
त्यसैले मन्त्री पद पनि जोगिने र निर्वाचन पनि जित्ने दाउमा रहेका प्रदीप यादव, इस्तियाक राई, राजेन्द्र श्रेष्ठले पुरानै गठबन्धनको साथ नछाड्ने बताएका छन् ।
यता, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि गठबन्धनमा रहेको जसपा फुट्न सक्ने खबर पाएको बताएका छन् । माओवादी पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले जसपामा विभाजन हुन सक्ने अवस्था रहेको ब्रिफिङ गरेको एक नेताले बताए ।
‘जसपाका केही शीर्ष नेताहरुसँग गम्भीर छलफल चलिरहेको छ, उहाँहरु हाम्रै गठबन्धनबाट चुनाव लड्नुहुन्छ’- प्रचण्डको भनाई थियो ।