स्याङ्जामा पुन: नारायण मरासिनी भर्सेस् राजु थापा, पद्य्माको प्रतिस्पर्धी धनराज
स्याङ्जा, २२ असोज । प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जाबाट उठ्ने मुख्य दुई उम्मेदवारको टुङ्गो लागेको छ । नेकपा एमाले र नेपाली काँग्रेसले उम्मेदवारको टुङ्गो लगाएका छन् ।
क्षेत्र नम्बर १ बाट दुई चिरपरिचित प्रतिद्वन्दी नारायण मरासिनी र राजु थापाबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । एमालेका तर्फबाट निवर्तमान सांसद मरासिनी दोहोरिँदा पूर्वसभासद राजु थापा पनि दोहोरिए ।
विसं २०७४ सालको निर्वाचनमा मरासिनीले थापालाई हराएका थिए । त्यसैगरी २०७० सालको संविधानसभा निर्वाचनमा भने थापाले मरासिनीलाई हराएका थिए । यी दुईबीच यसपटक पनि कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
त्यसैगरी क्षेत्र नम्बर २ बाट भने पूर्वमन्त्री पद्य्माकुमारी अर्याल दोहोरिएकी छन् भने काँग्रेसबाट धनराज गुरुङ उम्मेदवार बन्नेछन् । यसअघि अर्यालले काँग्रेस नेता गोपालमान श्रेष्ठलाई हराएकी थिइन् ।