बाबुरामलाई फेरि झुक्याए प्रचण्डले

समाचार टिप्पणी

काठमाडौं, २२ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राजनीतिमा फेरि आफुलाई ‘चतुर खेलाडी’ सावित गरेका छन् । माओवादी जनयुद्धदेखि नै प्रचण्ड ‘रिस्क लिन चाहने तर हार्न नचाहने’ खेलाडी हुन् ।

उनले भूमिगत हुनुअगाडि पार्टीका नेता सिपी गजुरेलसँग नाम नै साटिदिए । जबकि अहिलेका पुष्पकमल दाहाल ‘प्रचण्ड’को पार्टीको नाम ‘गौरव’ र सिपी गजुरेलको पार्टीको नाम ‘प्रचण्ड’ थियो । तर, पुष्पकमल दाहाललाई भूमिगत नाम ‘प्रचण्ड’ मनपर्यो र उनले गजुरेललाई तपाईं ‘गौरव’ बन्नुस् म ‘प्रचण्ड’ बन्छु भनेर झुक्याए ।

जनयुद्धमा त प्रचण्डले नेताहरूलाई कति झुक्याए त्यसको हिसाब-किताब नै छैन । पुर्वमाओवादी नेता रामबहादुर थापा बादल, लेखराज भट्ट र टोपबहादुर रायमाझीले यसबारेमा घन्टौं सम्म कुरा गर्छन् ।

प्रचण्डले स्व.गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउँछु भनेर शान्ति प्रक्रियामा झुक्याएको, जनयुद्ध छोडेको होइन नयाँ ढंगले अगाडि लैजान खोजेको भनेर आफ्नै पार्टीका नेताकार्यकर्तालाई झुक्याएको, ३० हजार जनमुक्ति सेना छन् भनेर अनमिनलाई झुक्याएको, सेना समायोजनमा नेपाली सेनालाई हतियार खोलाले बगायो भनेर झुक्याएको आरोप लाग्दै आएको छ ।

यसैगरी रोल्पामा चुनाव उठेर त्यहाँ झुक्याएर काठमाडौं पुगेको, काठमाडौं छाडेर सिराहा पुगेको, त्यसपछि सिराहाका जनतालाई झुक्याएर चितवन पुगेको र चितवन पुगेपछि एमाले अध्यक्ष ओलीलाइ झुक्याएर पार्टी कब्जा गर्न खोजेको आरोप पनि प्रचण्डमाथि एमालेले लगाएकै छ ।

एमाले अध्यक्ष ओलीले त अहिले पनि प्रचण्डले आफुलाई झुक्याएर छुरा रोपेको भन्न छाडेका छैनन् । ओली बाहेक नेपाली राजनीतिका प्रायः नेताले प्रचण्डले झुक्याए भन्ने गरेकै छन् ।

तर, पछिल्लो समय प्रचण्डले आफ्नै पूर्व सहकर्मी र अबको केही समयको राजनीतिक पार्टनर डा.बाबुराम भट्टराईलाई समेत झुक्याउन सफल भएका छन् । उनले बाबुरामलाई झुक्याएको यो पहिलो पटक भने होइन । तर, यो पटक बाबुरामलाई उनकै निर्वाचन क्षेत्र नै गायब बनाउने गरी झुक्याउन प्रचण्ड सफल भएका छन् ।

बाबुरामलाई चुनाव चिन्ह सापटी दिने भन्दै एक साँझ बाबुराम निवास पुगेर उनको नाति काखमा लिएको फोटो खिचेका थिए । नातिसँग प्रचण्डले हाँसेर फोटो खिच्‍नु नै बाबुरामको निर्वाचन क्षेत्र गायब हुनुजस्तै भएको छ । बाबुरामले चार दिन अगाडि चुनाव लड्दिन भन्नू र त्यसलगत्तै प्रचण्डले सोही क्षेत्रबाट उम्मेदवार बन्ने निर्णय पार्टीमा गराउनुले यो संयोग नभई योजनाबद्ध भन्ने बुझ्न कठिन छैन ।

प्रचण्ड चितवनबाहेक जहाँ उठेपनि सघाउने तर चितवनबाट उठ्न नदिने भनेर कुर्लने नेपाली काँग्रेसका नेताहरू भोलिपल्टै प्रचण्ड चितवनबाट नै चुनाव लड्नुपर्छ भन्दै खुमलटार पुग्नु र त्यसको २४ घन्टापछि बाबुरामको क्षेत्रबाट उम्मेदवार बनाउने निर्णय पार्टीमा गराउनुले प्रचण्डको चुतुरताले बाबुरामलाई झुक्याएको पक्का-पक्की भएको छ ।

सधैं अरुलाइ झुक्याउने प्रचण्डलाई गोरखाका जनताले अब के गर्छन् फैसला मंसिर ४ पछि हुनेछ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय