जसपाले गठबन्धन छोड्यो
काठमाडौं, २१ असोज । सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी ‘जसपा’ बाहिरिने पक्का भएको छ । जसपा अब नेकपा एमालेसँग चुनावी तालमेल गर्ने निष्कर्षमा पुगेको छ ।
जसपा अध्यक्ष उपेन्द्र यादवसहितका केही नेताले बिहिबार राति एमाले सचीव रघुविर महासेठको घरमा चुनावमा जसपाले २५ सिट पाउने गरी तालमेल गर्ने सहमति गरेको छ । यद्यपि जसपाको एउटा समुह गठबन्धन सँगै वार्तामा भएको कारण सहमतिको ड्राफ्टमा हस्ताक्षर भने हुन बाँकी छ ।
एमालेसँग शुक्रबार विहान हस्ताक्षर हुने एक नेताले जानकारी दिए । एमालेले जसपालाई प्रदेश एकमा ३ क्षेत्र दिनेछ । त्यसैगरी मधेस प्रदेशमा १६ सिट पाउनेछ । सप्तरी, सिराहा, धनुषा, सर्लाही, बारा, पर्सामा जसपाले २/२ क्षेत्र लिने देखिएको छ ।
एमालेले जसपालाई सम्मानजनक स्थान दिन तयार भएपछि बालुवाटार बैठकबाट अध्यक्ष उपेन्द्र यादव सिधै बालकोट पुगेर एमाले अध्यक्ष केपी ओलीसँग वार्तामा बसेका थिए ।
त्यही समयमा नेता राजेन्द्र श्रेष्ठ र मनिष सुमन भने बालुवाटार बैठकमै थिए । जसपाको दोहोरो चरित्रले गठबन्धनका अन्य दलहरू भने रुष्ट छन् ।
‘जसपाले फेरि एकपटक आफ्नो असली रुप देखायो’, गठबन्धनका एक नेताले भने- ‘एमालेसँग न एजेन्डा मिल्छ न सिद्धान्त तर लोभमा फसेर जसपाले आफ्नो एजेन्डा समेत बिर्सेको छ, यसको जवाफ जनताले चुनावमा दिनेछन् ।’