रत्न प्रिय क्लबलाई रत्ननगर कप फुटबलको उपाधि
चितवन, १७ असोज । चितवनको रत्ननगरमा आयोजित प्रथम रत्ननगर कप १०-ए-साइड नकआउट फुटबल प्रतियोगिताको उपाधि रत्न प्रिय क्लब (आरपिसी)ले जितेको छ ।

सोमबार मनहरा मैदानमा भएको फाइनल खेलमा आयोजक हाइलाइट युथ क्लबलाई १-० ले हराउँदै आरपिसीले उपाधि जितेको हो ।

आरपिसीलाई उपाधि दिलाउन लेविन जोशीले गरेको एकमात्र गोल नै निर्णायक बनेको थियो । ‘म्यान अफ दि म्याच’ हुन सफल लेविनले खेलको १५औं मिनेटमा गोल गरेका थिए ।
दुवै टोलीले केही सुनौला अवसरहरु प्राप्त गरेपनि गोलमा परिणत गर्न भने सकेनन् । त्यसपछि खेलमा कुनै गोल हुन सकेनन् र आरपिसीले उपाधि जित्न एक गोल नै पर्याप्त बन्यो ।
उपाधि जितेसँगै रत्न प्रिय क्लबले ५५ हजार रुपैयाँ नगद, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ भने उपविजेतामा सीमित हाइलाइटले ३० हजार रुपैयाँ नगद, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्यो ।
व्यक्तिगत विधातर्फ भने हाइलाइटकै खेलाडीको दबदबा रह्यो । आरपिसीका गोलरक्षक सुजन क्षेत्री उत्कृष्ट गोलरक्षक घोषित हुँदा हाइलाइटका तेज चौधरी उत्कृष्ट डिफेन्डर, भिष्म क्षेत्री उत्कृष्ट फरवार्ड तथा हाइलाइटकै अभिषेक महतो उच्च गोलकर्ता बने ।
फाइनल खेलको प्रमुख आतिथ्यता रत्ननगर नगरपालिका-९ का अध्यक्ष अनन्त अधिकारीले गरेका थिए ।