काठमाडौं-४ छाडेर गगन सर्लाही-४ जाने !

काठमाडौं, १७ असोज । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा आगामी मंसिर-४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं छाडेर मधेसबाट उठ्न सक्ने समाचार बाहिर आएको छ । यद्यपि यस विषयमा महामन्त्री थापा र नेपाली काँग्रेसको आधिकारिक धारणा आउन बाँकी छ ।

स्रोतका अनुसार महामन्त्री थापा यसपटक सर्लाही-४ बाट चुनाव लड्ने तयारीमा छन् । तर, यो क्षेत्रमा काँग्रेसभित्र विवाद छ । सर्लाही-४ पार्टीका नेता अमरेश कुमार सिंहको क्षेत्र हो । तर, नेता सिंहलाई स्थानीय निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराएको आरोप छ । जसका कारण अमरेश कुमार सिंहले टिकट नपाउने काँग्रेस नेताहरू बताउँछन ।

यता काठमाडौं-४ लाई आफ्नो स्थायी निर्वाचन क्षेत्र बनाउँदै आएका महामन्त्री थापाले पनि काठमाडौंबाहेक पनि निर्वाचन लड्न सकिने र त्यसमा छलफल भइरहेको निकटस्थहरुसँग बताउन थालेका छन् । उनले गठबन्धनमा रहेको मुख्य दल माओवादी केन्द्र र एकीकृत समाजवादीसँग समेत सर्लाहीमा गठबन्धनको जित्‍ने आधार कत्तिको बलियो छ भनेर जिज्ञासा राखेको माओवादी केन्द्रका एक नेताले परेवान्युजलाई बताए ।

काठमाडौंमा युवा र स्वतन्त्र उम्मेदवारको लहर चलेको भन्दै राजनीतिक दलका नेताहरू चुनावमा लोकप्रिय र साझा उम्मेदवारको खोजीमा छन् । काँग्रेस महामन्त्री थापाले चाहिँ काठमाडौं मात्रै होइन देशको जुन निर्वाचन क्षेत्रमा उठेपनि आफू चुनाव जित्‍ने दाबी गरेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय