सत्ता गठबन्धनमा खटपट !

काठमाडौं, १६ असोज । सिट बाँडफाँडमा चित्त नबुझेपछि जनता समाजवादी पार्टीले हालको गठबन्धनबाहेक एमाले र राप्रपालगायत अन्य साना दलसँग पनि छलफल गर्ने भएको छ । गठबन्धनभित्रको नेपाली काँग्रेस र माओवादी केन्द्रले सिट बाँडफाँडमा हेपेको भन्दै जसपा अध्यक्ष उपेन्द्र यादवले असन्तुष्टि जनाएका छन् ।

उनले पर्सा, सप्तरी, सुनसरी र रुपन्देहीमा आफ्नो पार्टीको हैसियतभन्दा पनि कम सिट दिन खोजिएको भन्दै आक्रोश व्यक्त गरे । गठबन्धनमा उपेन्द्रले कम्तीमा २७ सिट मागेका थिए । तर, भागबन्डा गर्दा जसपाले १६ सिट पाउने देखिएको छ ।

यसैगरी गठबन्धनको अर्को दल नेकपा एकीकृत समाजवादीले पनि सिट बाँडफाँडमा चित्त दुखाएको छ । सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले काँग्रेस र माओवादीले आफ्नै सम्पत्ति दिनुपरे जस्तो व्यवहार देखाएको उनको आरोप छ । उनले ३० सिटभन्दा कम पाए एक्लाएक्लै लड्ने भनेपनि गठबन्धनबाट १७ सिट मात्रै भाग पाएका छन् । यसले गर्दा उनको पार्टीभित्रका नेताहरू समेत असन्तुष्ट छन् ।

यता माओवादी केन्द्रको पीडा पनि बेग्लै छ । गठबन्धनमा ६० सिट दाबी गर्दै आएको माओवादीले ४४ सिट भन्दा बढी पाउने देखिन्‍न । त्यसमा पनि नेसपा अध्यक्ष डा.बाबुराम भट्टराई र एमालेका पुर्वउपाध्यक्ष वामदेव गौतम समुहलाई समेत त्यसैभित्र समेट्नुपर्ने छ ।

माओवादीको रुकुम पश्चिम इन्चार्ज सचिन रोकाले त गठबन्धनको नाममा सिट अरुलाइ दिन नसकिने र दिएमा त्यसको परिणाम गम्भीर हुनसक्ने भन्दै नेतृत्वलाई खबरदारी गरेका छन । रुकुम पश्चिम उप-महासचिव जनार्दन शर्माको क्षेत्र हो । यतिबेला माओवादी अध्यक्ष प्रचण्ड र जनार्दनबीच सम्बन्ध चिसिएको छ ।

गठबन्धनको ठूलो दल नेपाली काँग्रेस भित्र त सिट बाँडफाँडको कुराले मारामार र पानी बराबरको अवस्था छ । पार्टीको संस्थापन पक्षले अन्याय गरेको भन्दै न्याय र समानताको लागि ‘विद्रोह’ सम्मको चेतावनी डा.शेखर कोइराला पक्षले दिएको छ । कम्तीमा १०० सिट भन्दा तल झर्न नहुने अडानमा कोइराला पक्ष अझै देखिन्छ तर पार्टी सभापति शेरबहादुर देउवाले जम्मा ८४ सिट लिएर गठबन्धन गर्दैछन् ।

यसरी गठबन्धन भित्रका दलबीच भागबन्डामा सकस आइरहेको बेला पार्टीभित्र अर्को असन्तुष्टि बढ्नु तथा जसपा र समाजवादीले अन्यसँग पनि छलफल र गठबन्धन गर्न ढोका खुल्ला गर्नुले सत्ता गठबन्धनमा सकस पर्दै गएको देखिन्छ । स्रोतका अनुसार दसैंमा शीर्ष नेताहरू काठमाडौंमै बसेर सिट बाँडफाँड टुंग्याउने तयारी छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय