बाबुराम भट्टराई चुनाव नलड्ने !
काठमाडौं, १३ असोज । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन नलड्ने संकेत गरेका छन् ।
गोरखा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचन लड्ने तयारी गर्दै माओवादी केन्द्रसँग सहकार्य र चुनाव चिन्ह सापटी लिएका भट्टराईले चुनाव नलड्ने देखिएको छ ।
बिहिवार बिहान फेसबुकवालमा स्टाटस लेख्दै डा.भट्टराईले भनेका छन्- ‘के सबैले सधैँ चुनाव लड्नैपर्छ ? समाज रूपान्तरण, विकास/समृद्धि, समुन्नत समाजवाद निर्माणको राजनीतिक यात्रा गर्नेहरूले चुनावदेखि चुनावसम्मको बाटो मात्र हिँडेर हुन्छ ?’ ।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनदेखि गोरखाबाट चुनाव जित्दै आएका भट्टराईले प्रश्न गर्दै थप लेखेका छन- ‘सडक-सदन-सरकारको क्षेत्रबाट एकीकृत संघर्ष गर्दै समुन्नत समाजवादको दिशामा जाने हो भने नेतृत्वको मूल टिमको कार्यविभाजन पनि सोही अनुरूप गर्नु आवश्यक नहोला र ?’
उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पुन: एकपटक सहकार्य गर्दै अगाडि बढ्न छलफल समेत गरेको बताएका छन । ‘क. प्रचण्ड र म जीवनको अन्तिम कालखण्डमा पुनः एकचोटि नयाँ उचाइमा उठेर सहकार्य गर्न यस्तै यस्तै छलफल गरिरहेछौं ! तपाईंहरूको सल्लाह सुझाव अपेक्षित छ!!’, उनले लेखेका छन् ।
बाबुराम आफू गोरखाबाट नउठे काठमाडौंबाट छोरी मानुषी यमी भट्टराईलाई चुनाव लडाउने पक्षमा छन् ।