सानेपा धर्नाको विषय गम्भीर, तर ध्यान टिकटक

काठमाडौं, १३ असोज । टिकटकले अहिले धेरैको ध्यान तानेको छ । कुनै गहन विषयबारे जानकारी दिनु वा पुर्ण मनोरञ्जनको लागि टिकटक चलाउनु र भिडियो अपलोड गर्नु राम्रो हो ।

तर, गाडी दुर्घटना हुँदा, कुनै व्यक्ति आपतविपतमा पर्दा र कुनै गम्भीर विषयमा कसैको ध्यान आकर्षित गर्नुपर्दा त्यसमा टिकटक बनाउनु भद्दा मजाक बाहेक केही होइन । अर्कोतिर जुन कामको लागि जे गरिँदैछ त्यसमाथि ध्यान केन्द्रित गर्नुको सट्टा टिकटक बनाएर बस्नु त झन अनुशासनहिन कार्य हो ।

बुधबार गम्भीर विषयमा पार्टी नेतृत्वको ध्यानाकर्षण गर्न पार्टी केन्द्रीय कार्यालयमै धर्ना बस्‍न पुगेका नेपाली काँग्रेसका नेताहरू भने मुख्य कुरा छोडेर टिकटक बनाउन व्यस्त देखिए ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिक बन्दसूचीमा एकलौटी तरिकाले नाम बुझाएको भन्दै नेपाली काँग्रेस शेखर कोइराला-गगन थापा समूहले पार्टी मुख्यालयमा धर्ना दिने कार्यक्रम थियो । तर, पार्टी कार्यालयको मुख्यद्वारमा धर्ना बस्नेहरुको ध्यान पार्टी नेतृत्वलाई दबाब दिनभन्दा टिकटक बनाउनेमा बढी थियो ।

निर्वाचनमा समान अवसर र न्यायको माग गर्दै पार्टी कार्यालय सानेपामा शेखर समूहले मध्याह्न १२ बजेदेखी एक घन्टा धर्ना दिएको थियो । धर्नामा धेरैको ध्यान टिकटकमा थियो । कार्यकर्ता मात्रै होइन स्वयं धर्नाका आयोजक पार्टी केन्द्रिय नेताहरू समेत टिकटकमा रमाएर फर्किए ।

पार्टी सभापति शेरबहादुर देउवालाई पार्टीमा मनोमानी गरेको र बन्दसूचीमा सल्लाह नै नगरी नाम पठाएको भनेर धर्ना मार्फत ध्यानाकर्षण गर्न मुलढोकामा पुगेका नेता कार्यकर्ता टिकटकमा व्यस्त भएपछि उपस्थित केही नेता भने टिकटक फ्रेम बाट बाहिरिएका थिए ।

शेखर समूहले संघदेखि प्रदेशसम्मको सूची सच्याउनुपर्ने माग अघि सारेको छ । यसैगरी पार्टी भित्र कम्तीमा ४० प्रतिशत भाग आफुहरुले पाउनुपर्ने सो समुहको माग छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय