प्रख्यात स्की आरोही हिलारी नेल्सनको शव फेला
काठमाडौं, १२ असोज । गत सोमबारदेखि हराइरहेकी विश्वप्रख्यात अमेरिकी स्की आरोही हिलारी नेल्सनको शव फेला परेको छ । मनास्लु हिमालमा हराइरहेकी नेल्सन बुधबार विहान मृत भेटिएकी हुन् ।

मनास्लु हिमालमा स्की गर्ने क्रममा उनी भिमाथाङ क्षेत्रबाट हराएकी थिइन् । उनी हराएपछि खोजीका लागि शेर्पाहरुको टोली परिचालन गरिएको थियो । उनीहरुले शव भेटेको खबर गरेका थिए । उनको शवलाई हेलिकोप्टरमार्फत् गोरखाको सामागाउँ हुँदै काठमाडौं ल्याइने छ ।

गत सोमबार मनास्लुको तेस्रो र चौथो आधार शिविरमा हिमपहिरो गएको थियो । घटनामा एक जना नेपालीको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए ।
सोही क्रममा हिलारी बेपत्ता भएकी थिइन् । उनीसँगै स्की गर्दै आएका उनका पार्टनर जिम मोरिसन पनि यात्रामा साथै थिए । उनी भने सकुशल छन् ।