निर्वाचन आयोगले सबै दललाई भन्यो: कसैको पनि बन्दसूची मिलेन

काठमाडौं, ११ असोज । निर्वाचन आयोगले नेपाली काँग्रेस, नेकपा एमाले र माओवादीसहित धेरैजसो राजनीतिक दलले बुझाएको समानुपातिक तर्फको बन्द सुची नमिलेको जनाएको छ ।

आयोगले प्रतिनिधिसभा अन्तर्गत समानुपातिक निर्वाचनमा भाग लिन भन्दै दलहरूले आयोगमा बुझाएको सुची कसैको पनि नमिलेको बताएको छ । आयोगमा जम्मा ४८ दलले बन्द सुची पेस गरेको र सबैको बन्दसूची नमिलेको भनेको छ ।

राजनीतिक दल सम्बन्धि कानूनी व्यवस्था अनुसार नमिलेको भन्दै आयोगले मिल्नेगरी सच्याउन पत्र पठाएको छ । यसैगरी प्रदेशमा दलले बुझाएको बन्दसूची अनुसार २ सय १३ दलले कानूनअनुसार नमिलेको बन्दसुची बुझाएकोले त्यहाँ पनि सच्याउन भनिएको छ ।

आयोगका अनुसार प्रदेश नम्बर-१ मा ३३ राजनीतिक दल, मधेश प्रदेशमा ३४, वागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा २३, लुम्बिनी प्रदेशमा ३०, कर्णाली प्रदेशमा २७ र सुदूरपश्चिम प्रदेशमा २९ दलले पेस गरेको बन्दसूची मिलेको छैन ।

समानुपातिक निर्वाचनको कार्यतालिका अनुसार असोज १६ गतेसम्म राजनीतिक दलले उम्मेदवारको बन्दसूची संशोधन गरेर पेस गर्ने कार्यतालिका छ । यस्तै, १७ गते उम्मेदवारले आफ्नो नाम बन्दसूचीबाट फिर्ता लिन सक्नेछ भने असोज २० गतेदेखि २२ गतेसम्म उम्मेदवारले नाम फिर्ता लिएको कारण रिक्त भए अर्को उम्मेदवारको नामावली सम्बन्धित राजनीतिक दलले आयोगमा पेश गर्नुपर्नेछ । २२ गते बेलुकी सम्म आयोगले उम्मेदवारको बन्दसूचीको सूचना प्रकाशित गर्नेछ ।

त्यसैगरी असोज २३ गतेदेखि २९ गतेसम्म उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको उम्मेदवारको योग्यता सम्बन्धमा दावी विरोध गर्न निवेदन दिनुपर्नेछ । असोज ३० गतेदेखि कात्तिक ५ गतेसम्म उम्मेदवारको बन्दसूचीमा समावेश उम्मेदवारको योग्यता सम्बन्धी दाबी विरोधको निवेदनमाथि जाँचबुझ र निर्णय गरिनेछ ।

कात्तिक ८ गते उम्मेदवारको बन्दसूचीबाट उम्मेदवारको नाम हटेको सूचना प्रकाशन हुने र कात्तिक ९ गते उम्मेदवारको बन्दसूची अन्तिम रुपमा प्रकाशन भइ मंसिर ४ गते आइतबार निर्वाचन हुनेछ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय