यी तीन प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौं, ११ असोज । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ ।
अहिले देशभर आंशिक बदली रही मधेश प्रदेश, बागमती प्रदेश र प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
महाशाखाले जारी गरेको तीन दिने मौसमी बुलेटिनअनुसार आज दिनभरको मौसम यसप्रकार रहनेछ:
दिउँसो : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शः
प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त क्षेत्रहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम , सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ ।
साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।