गाडी दाइजो नपाएपछि श्रीमतीको हत्या !
वीरगञ्ज, ११ असोज । बिहेमा दाइजोको रुपमा गाडी नपाएको भन्दै बाराको कलैया उप-महानगरपालिका भित्रै एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेको अभियोग माइती पक्षले लगाएका छन् ।
वीरगंजकै एउटा कमर्सियल बैंकमा जागिरे रहेका दिपेन्द्र जैसवारले दाईजो नपाएको कारण श्रीमतिको हत्या गरेको आरोप माइती पक्षको छ । उनीहरुले प्रहरीमा उजुरी दिनुको साथै पत्रकार सम्मेलन समेत गरेर घटनाको दोषीलाई सजाय माग गरेका छन् ।
बिहेमा माइती पक्षले गाडी दाइजो नदिएको भन्दै श्रीमती पिंकी कुर्मीको हत्या भएको मृतककी दिदी सपना कुर्मीले बताइन । उनले आफनी बहिनीलाई बिहेमा गाडी दाइजोमा नदिएको भन्दै बाराको कलैया उपमहानगरपालिका निवासी जैसवारले हत्या गरेको आरोप लगाइन । १२ वर्षअघि बहिनी पिंकीको बिहेमा ससुराली पक्षले माग गरे अनुसार ४० लाख रुपैया, १० तोला सुन, कपडालत्ताहरु दिईजो दिएको तर केटापक्षले गाडी समेत मागेको तर माईती पक्षले गाडी दिन नसक्दा पिंकीको हत्या भएको माइती पक्षको जिकिर छ ।
लामो समयदेखि दाइजोकै कारण घरेलु हिंसा भोग्दै आएकि मृतक सपना कुर्मीले पटकपटक प्रहरी प्रशासन गुहारेको भएपनि राजनीति दलहरुले गाउँमै मिलापत्र गर्न दबाब दिएको समेत माइती पक्षको भनाइ छ । पछिल्लो पटक गत भदौ २७ गते श्रीमान् तथा परिवारको कुटाईबाट गम्भिर घाइते भएकी पिंकीको वीरगंजस्थित एडभान्स मेडिकेयर अस्पतालमा भर्ना गरिएको र त्यहाँ उनको उपचार सम्भव नभएपछि थप उपचारका लागि २८ गते चितवनस्थित चितवन मेडिकल कलेज लगिएको थियो ।
टाउकोमा गम्भीर चोट लागेको कारण उनको चितवनमा टाउकोको शल्यक्रिया गरिएको माइती पक्षले जानकारी दिए । त्यसपछि पिंकीको स्वास्थ्य जटिल भएपछि उनलाई थप उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल पुर्याईएको थियो । उनको उपचारको क्रममा काठमाडौंमै मृत्यु भएको हो ।
मृतकका भाइ मनिष कुर्मीका अनुसार कुटपिटका कारण दिदिको मृत्यु भएको हो । यसैबीच बारा प्रहरीले घटनाको अनुसन्धानका लागि मृतकका श्रीमानलाई नियन्त्रणमा लिएको छ ।
माइती पक्षले भने हत्या आरोपमा मृतकका ससुरा मुरारी राउत जैसवार, सासु मन्तुरा राउत जैसवार, पति दिपेन्द्र जैसवार समेतलाई दोषी भन्दै मुद्दा दर्ता गराएको थियो ।