देउवालाई प्रश्‍न: सच्चिने कि हराइदिऊँ ?

काठमाडौं, १० असोज । देशभर चुनावी माहोल तातिरहेको बेला नेपाली काँग्रेसभित्रको आन्तरिक द्वन्द्व झन चर्किदै गएको छ । पार्टीभित्र समान अवसर र न्याय माग्दै आएको डा.शेखर कोइराला र महामन्त्री गगन थापा समुहले छुट्टै भेला र छलफल गर्ने क्रम चलिरहेको छ ।

शनिबार खबरदारी सभा गरेर नेतृत्वलाई विद्रोहको चेतावनी दिएको सो समुहले सोमबार पनि ठमेलमा भेला गरेका थिए । तर, शेखर-गगन समुहको भेला र सभा भनेर गरिएको कुनैपनि कार्यक्रममा स्वयं नेता डा.कोइराला र महामन्त्री थापालगायत सो समुहका नेता उपसभापति धनराज गुरुङ, सह-महामन्त्री बद्री पान्डे, जीवन परियार उपस्थित हुने गरेका छैनन् ।

सोमबारको ठमेल भेलामा पनि केन्द्रीय सदस्यहरु अजयबाबु शिवाकोटी, प्रकाश स्नेही, प्रतिमा गौतम, मधु आचार्य, प्रदेश १ सभापतिका प्रत्यासी गुरुराज घिमिरे, बागमती प्रदेश सभापति प्रत्यासी जगदीश नरसिंह केसी, कर्णाली प्रदेश सभापतिका प्रत्याशी भुपेन्द्रजंग शाही, धादिङ सभापति रामनाथ अधिकारी, चितवनका पूर्वसभापति जितनारायण श्रेष्ठ लगायत मात्रै सहभागी थिए ।

उनीहरुले गठबन्धनलाई समय पनि दिने र सिटपनि दिने सभापति शेरबहादुर देउवाको कारण पार्टीमा चरणबद्ध आन्दोलन गर्नुपरेको बताए । भेलामा सहभागी अधिकांश नेताले सभापति देउवाले पार्टीको तर्फबाट निर्वाचन आयोगमा बुझाएको समानुपातिक सुचीमा हेरफेर र प्रत्येक्ष उम्मेदवार बनाउदा सम्मानजनक स्थान नदिए चुनावमा काँग्रेस उम्मेदवार बाहेक गठबन्धनका उम्मेदवारलाई भोट नदिने बताए ।

सभापति देउवा नसच्चिने हो भने गठबन्धनका उम्मेदवारलाई हराइदिने उनीहरुको भनाइ थियो । गठबन्धनका नेतालाई पनि काँग्रेसको भोट लगेर जित्ने सपना नदेख्न उनीहरुले चेतावनी दिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय