कुलमानको लोकप्रियतालाई माओवादीको इज्जत जोगाउने हतियार बनाउँदै प्रचण्ड
काठमाडौं, १० असोज । देशको संघीय राजधानी काठमाडौमा पार्टी कमजोर बन्दै गएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकै तनावमा छन् । उनले लोकप्रिय व्यक्तिको खोजी गर्दै चुनावमा टिकट दिएर पार्टीको अवस्थालाई सुदृढ गर्न हरेक प्रयास गरिरहेको माओवादीभित्र चर्चा छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सार्वजनिक कार्यक्रममै ‘काठमाडौंमा बालेन साह भन्दा पनि लोकप्रिय व्यक्ति ल्याएर मंसिर-४ को चुनाव जित्ने’ बताएका थिए । तर, उनको त्यो खोजी पूरा भएको छैन ।
प्रचण्डले चाहेको ‘लोकप्रिय व्यक्ति’ मध्येका हुन् नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ । उनले घिसिङलाई काठमाडौंबाट चुनावमा उठ्न दबाब दिइरहेको स्रोतको दाबी छ । प्रचण्डसँगै माओवादी उप-महासचिव वर्षमान पुन र ऊर्जामन्त्री पम्फा भुषाल पनि कुलमान घिसिङलाई माओवादीबाट चुनावमा उठाउन तयार छन् ।
माओवादी पार्टीकै चाहना र पहलमा दुई पटक प्राधिकरणको कार्यकारी निर्देशक भएका घिसिङलाई चुनाव लडाएर काठमाडौंमा कम्तिमा एक सिट भए पनि सुरक्षित गर्ने माओवादी योजना छ । यसमा माओवादीकै उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ र उप-महासचिव जनार्दन शर्मा भने खुसी छैनन् । उनीहरुले एक ठाउँमा लोकप्रिय व्यक्ति खोज्नुभन्दा सिङ्गो पार्टी लोकप्रिय बनाउने गरी कार्यकर्ता परिचालन गर्न र कार्यक्रम ल्याउन नेतृत्वलाई आग्रह गरेका छन् ।
यता कुलमान घिसिङ पनि राजनीतिमा आउन चाहेको तर कुनै पार्टीको चुनाव चिन्ह भन्दा स्वतन्त्र रुपमा उठ्ने र दलहरूले समर्थन गरिदिने अवस्थाको खोजीमा छन् । कुलमान राजनीतिमा आउने वा माओवादी केन्द्रबाट चुनाव लड्ने समाचार सार्वजनिक भएसँगै केही बुद्धिजीवी र आमजनताले घिसिङलाई पार्टीबाट चुनाव नलड्न सल्लाह दिएका छन् ।
जनताको चाहना भन्दा फरक गएर चुनाव लड्ने मुडमा स्वयं कुलमान पनि छैनन् । आफू चुनाव नलडोस भन्ने पक्षमा जनमत भएपछि उनि हच्किएको उनीनिकट स्रोतले बतायो ।
यसअघि प्रचण्डले कुरा गर्दा घिसिङले चुनाव लड्ने कुरामा सकारात्मक जवाफ दिए पनि पछिल्लो समय भने उनी चुनाव लड्ने मनस्थितिमा देखिन्न । तर, प्रचण्डले काठमाडौं क्षेत्र नम्बर २ वा ३ बाट घिसिङलाई चुनावमा उठाउने सोच बनाएका छन् ।
पहिले काठमाडौं ३ बाट उठाउन योजना बनाए पनि काठमाडौं-३ नेपाली काङ्ग्रेसको भागमा परेको छ । कुलमान अब माओवादी योजनामा सामेल भएमा काठमाडौ- २ मा उठ्न सक्नेछन् ।