काँग्रेसमा देउवा पक्ष हावी, ४० माग्दा ११ प्रतिशत मात्रै पाएपछि गगन बोल्नै छाडे
काठमाडौं, ९ असोज । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पाँच दलिय गठबन्धन गरेर जाने तयारीमा रहेको नेपाली कांँग्रेसले पार्टी भित्र भने भागबन्डा मिलाउन सकेको छैन ।
पार्टी भित्र समान अवसर नपाए ‘विद्रोह’ गर्ने सम्मको तयारीमा रहेको डा.शेखर कोइराला समुहले ४० प्रतिशत भाग पाउनुपर्ने अडान राखेपनि नेपाली कांँग्रेस पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको सुची हेर्दा डा.शेखर र महामन्त्री गगन थापा समुहले जम्मा ११ प्रतिशत पाएको देखिन्छ । समानुपातिकमै पार्टी सभापति शेरबहादुर देउवा पक्षले यसरी पेल्न थालेपछि प्रत्येक्षमा त झन् कम पाउने निश्चित छ । किनभने प्रत्यक्षमा कांँग्रेस एक्लै होइन पाँच दलले सिट बाँडफाँड गर्नेछन् ।
यसैबीच पार्टीमा समान अवसर र न्याय नपाएपछि शेखर-गगन समूहले खबरदारी सभा र छुट्टै भेला गर्न थालेको छ । सभापति एवम् प्रधानमन्त्री देउवाले धेरै अपमान गरेको भन्दै महामन्त्री गगन थापा बैठकमै जान छाडेका छन् । गएको एक सातादेखि सभापति देउवा र महामन्त्री थापाबीच पानी बाराबारको अवस्था सिर्जना भएको छ ।
सत्ता गठबन्धनबीच सिट बाँडफाँटको विषयसँगै आफ्नै पार्टीभित्र झन् अपमान र बेवास्ता हुन थालेपछि सभापति देउवा र महामन्त्री थापाबीच सम्बन्ध चिसिएको हो । सभापतिको हस्तक्षेप विरुद्ध बैठकमै कुरा उठाएका थापाले बोल्दा बोल्दै देउवा चर्केपछि भनाभन समेत भएको कांँग्रेसका एक नेताले बताए ।
कांँग्रेसभित्र कोइराला-थापा समूहले सुरुदेखि नै काँग्रेस १०० सिटबाट तल झरे पार्टीलाई ठूलो नोक्शान हुने र पार्टीभित्र आन्तरिक विद्रोह हुने चेतावनी दिँदै आएका छन् । तर, यही कुरामा सभापति देउवाले ‘काँग्रेसले मात्रै यत्रो लिएर हुन्छ ? तपाईँहरु मिल्ने कुरा गर्नुहोस्’ भन्दै पड्किएका थिए । गठबन्धनमा सभापति देउवा ८३ देखि ८६ सिटमा मिल्न खोजिरहेका छन् ।
तर, डा.शेखर समुह र महामन्त्री थापाले भने ८६ सिटमा कुनैपनि हालतमा मान्न नसकिने अडान लिएका छन् । उनीहरुको माग कम्तीमा १०० लिनुपर्ने र त्यसमा ४० आफ्नो समुहले पाउनुपर्ने अडानमा छन् ।
नेपाली कांँग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको बन्द सुचिमा देउवा पक्षका नेताहरू आनन्दप्रसाद ढुंगाना, गोपालमान श्रेष्ठ, डा.आरजु राणा, फर्मुल्लाह मन्सुर, अम्बिका बस्नेत, डा.प्रकाशशरण महत, विमलेन्द्र निधी, खुमा अर्याल, नगिना यादव, सरस्वती बजिमय, मधु शाहीलगायत ६४ जना छन् ।