काँग्रेसविरुद्ध काँग्रेसको सभा: ‘विनम्र होइन अब विद्रोह हुन्छ’
काठमाडौं, ८ असोज । नेपाली काँग्रेसका नेताहरुले पार्टीभित्र समान अवसर र न्याय नपाए अब विनम्रताको भाषा छोडेर विद्रोह गर्ने चेतावनी दिएका छन् । उनीहरुले गठबन्धनको नाममा काँग्रेसको भोटबाट चुनाव जित्ने सपना नदेख्न अन्य दललाई समेत सचेत गराएका छन् ।
‘हाम्रै पार्टीमा विद्रोह हुनसक्छ तपाईंहरु माओवादी र समाजवादीलाई भोट आउने ग्यारेन्टी कसरी गर्ने ?’, शनिबार काठमाडौंमा आयोजित खबरदारी सभामा नेताहरूले भने । नेपाली काँग्रेसभित्रको डा.शेखर कोइराला पक्षले सभा गरेको हो ।
सभामा बोल्दै काँग्रेस नेता गुरुराज घिमिरेले भने- ‘पार्टीभित्र अन्यायमा परेका साथीहरूले सुरुमा विनम्रताको भाषा बोलेर नेतृत्वलाई आग्रह गर्यो, त्यो नसुनेपछि आक्रोशित छौं, अब पनि नेतृत्वले न्याय नगरेमा विद्रोह हुन्छ’ ।
नेता घिमिरेले समानुपातिकको बन्द सूची तत्काल नसच्याए आक्रोशबाट विद्रोहको चरण सुरु हुने बताएका हुन् । उनले पहिले देउवाले नै काँग्रेस पार्टीभित्र ४० प्रतिशतको सुरुवात गरेको भन्दै आफूहरूले देउवाकै लाइन लिएको बताए । उनले गठबन्धनमा रहेका दलहरूलाई समेत कटाक्ष गर्दै भने- ‘गठबन्धनको नाममा काँग्रेसको भोट लगेर सांसद हुने सपना नदेख्नुस् । पार्टीका साथीहरूले पनि बालुवाटारमा बसेर हिसाब मिलाउँदैमा सबै जितिँदैन’ ।
समानुपातिक बन्दसूचीमा आफ्नो गुटलाई मात्र राख्ने हो भने प्रत्यक्षमा गठबन्धनबाट पार्टीले जति सिट पाउँछ, त्यसमा पनि आफ्नै गुटलाई मात्र राखे हुन्छ भन्दै घिमिरेले बन्दसूची नसच्चिने हो भने पार्टीलाई काँध हालेर हिँड्ने तर चुनाव नलड्ने बताए ।
नेता जगदीश नरसिंह केसीले पार्टीमा स्वेच्छाचारी प्रवृत्ति बढेको भन्दै आवाज नसुने त्यसपछिको परिणाम खतरनाक हुन सक्ने चेतावनी दिए । महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि गुटको नभई सबैको नेता हुने बताए पनि देउवा त्यसभन्दा माथि उठ्न नसकेको उनले आरोप लगाए । यस्तै नेता अजय द्वेवेदीले पार्टी सभापतिले बहुमतको बलमा अन्याय गरेको आरोप लगाए । उनले भने- ‘जहाँ अन्याय हुन्छ त्यहाँ विद्रोह हुन्छ’ ।
अर्का नेता भरत खड्काले चाहिँ देउवालाई मात्रै दोष दिनुभन्दा आफ्नै समुहको कमजोरीका कारण पनि अन्याय भएको बताए । टिकट वितरणको समुहमा चित्त नबुझेको भए केन्द्रीय समितिमा नोट अफ डिसेन्ट लेख्नुपर्नेमा आफ्नै समुहका नेताले त्यसो नगरेकोमा उनको दुखेसो थियो ।
खबरदारी सभामा बोल्दै नेता शोभा अधिकारीले सभापतिको एकलौटी राज पार्टीमा नचल्ने बताइन् । सबैलाई न्याय गर्नु र पार्टीलाई एकतावद्ध बनाउने जिम्मा सभापतिको भए पनि त्यसो नहुनु दु:खद भएको उनले बताइन् ।
तरुण दलका पुवमहामन्त्री भुपेन्द्रजंग शाहीले सम्मानजनक स्थान नपाए गगन थापाहरुले पनि टिकट च्यातेर बाहिर निस्कने हिम्मत गर्नुपर्ने बताए । नेपाल विद्यार्थी संघका पुर्वमहामन्त्री मनोजमणि आचार्यले गठबन्धनका नेतालाई दायाँबायाँ राखेर काँग्रेस नेतृत्वले पार्टीमा ईमानदार र पुराना सहकर्मीलाई समेत बेवास्ता गरेको आरोप लगाए । ‘पहिले देउवाले ४० प्रतिशत पाउने अहिले हामीले नपाउने भन्ने हुँदैन’, नेता आचार्यले भने।
यो सभा पार्टीभित्रको डा.शेखर कोइराला र महामन्त्री गगन थापा समूहको सभा भनिएपनि सो समुहका नेता कोइराला, महामन्त्री थापा, उपसभापति धनराज गुरुङ, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी लगायत नेता भने उपस्थित भएनन् ।
भेलामा केन्द्रीय सदस्यहरू प्रतिमा गौतम, अजयबाबू सिवाकोटी, प्रकाश स्नेही, दिनेश कोइराला, देवराज चालिसे, गुरुराज घिमिरे, भूपेन्द्रजंग शाही, जगदीश नरसिंह केसी, मोहन बस्नेत, मनोजमणि आचार्यलगायत नेता उपस्थित थिए ।
खबरदारी सभामा कोको उपस्थित भए ? तस्वीरमा हेर्नुस्: