बुद्धिमानले ‘ओके’ भनेपछि रविन्द्र मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष बन्दै

काठमाडौं, ७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीमा वरिष्ठ उपाध्यक्ष पाउने पक्का भएपछि रविन्द्र मिश्र पार्टी प्रवेश गर्न तयार भएका छन् । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रहेका मिश्रलाई वरिष्ठ उपाध्यक्ष दिन राप्रपाका उपाध्यक्षहरु बाधक नबन्‍ने भएपछि यो वातावरण बनेको हो ।

यसअघि राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङले मर्यादाको ख्याल गर्नुपर्ने अभिव्यक्ति दिएका थिए । तामाङसँगै उपाध्यक्षद्वय रोशन कार्की र ध्रुवबहादुर प्रधानले पनि मिश्रलाई पार्टीमा सम्मानजनक पद दिन तयार रहेको बताए ।

तर, यसअघि पार्टीमा कसैलाई ल्याउँदा अर्कोलाई मानमर्दन हुन नहुने भन्दै प्रधान र कार्की दोस्रो वरियता नदिने पक्षमा थिए । अन्तिम समयमा तामाङले वरियतामा आफू बाधक नभएको र पार्टीमा मिश्रलाई ल्याउन आफू सकारात्मक रहेको प्रतिक्रिया दिएपछि मिश्रलाई पार्टी प्रवेशमा सहज भएको हो ।

राप्रपाको पछिल्लोपटक बसेको कार्यसम्पादन समितिको बैठकमा रविन्द्र मिश्रसँग भएको छलफल र उनको पार्टी प्रवेशबारे अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी गराएका थिए । बैठकमा सबैको राय सुनेपछि अध्यक्ष लिङ्देनले मिश्रलाई पार्टीमा ल्याउदा वरिष्ठ उपाध्यक्ष दिन सबै तयार हुनुपर्ने प्रस्ताव समेत गरेका थिए ।

बैठकमै उपाध्यक्ष तामाङले मिश्रलाई पार्टीमा ल्याउन आफू बाधक भएको भनेर गरिएको प्रचार झुठो भएको भन्दै आफू बाधक नभएको स्पस्ट गरेका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय