बाबरको शतकमा इंग्ल्यान्डमाथि पाकिस्तानको कीर्तिमानी जीत
काठमाडौं, ७ असोज । इंग्ल्यान्डसँगको टी२० श्रृंखलाअन्तर्गत दोस्रो खेलमा पाकिस्तानले कीर्तिमानी जीत निकालेको छ । बिहिबार राति सम्पन्न खेलमा पाकिस्तानले इंग्ल्यान्डलाई १० विकेटले हरायो ।
इंग्ल्यान्डले दिएको २०० रनको विजयी लक्ष्य पाकिस्तानले ३ बल बाँकी छँदै कुनैपनि विकेट नगुमाई पूरा गर्यो । पाकिस्तानको जीतमा कप्तान बाबर आजमले ११० रनको शतकीय पारी खेले भने मोहम्मद रिजवानले ८८ रन बनाए ।
यो टी२० अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा कुनै पनि विकेट नगुमाई पूरा गरेको यो सर्वाधिक ठूलो लक्ष्य हो । यसअघि यो कीर्तिमान न्युजिल्यान्डले २०१६ मा पाकिस्तानविरुद्ध कुनै विकेट नगुमाई १६९ रन पूरा गर्दै बनाएको थियो ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९९ रन बनाएको थियो । मोइन अली ५५ रनमा अविजित रहे भने बेन डकेटले ४३ रन बनाएका थिए । पाकिस्तानका ह्यारिस राउफ र शाहनवाज दहानीले २ २ तथा मोहम्मद नवाजले १ विकेट लिए ।
पाकिस्तानको यस जीतसँगै सात खेलको टी२० श्रृंखला १ १ को बराबरीमा पुगेको छ । तेस्रो खेल आजै हुँदै छ ।