बिपीको आदर्श र क्रियाशीलतामा परशुराम

यतिबेला बजारमा एकातिर दशैंको माहोल छ र अर्कोतिर चुनावी सरगर्मी बढेको छ । हिन्दुको मुख्य पर्व दशैं भएपनि सबै नेपालीको मुख्य पर्व ‘मंसिर ४ को चुनाव’ हो । यसले देशको आगामी पाँच वर्ष कसको र कस्तो सरकार बन्छ भन्‍ने कुराको फैसला गर्दछ ।

चहलपहल बढेसँगै नेताकार्यकर्तालाई चुनावी माहोलले पनि तताएको छ । नेतालाई टिकट पाउने/नपाउने पिरलो छ भने कार्यकर्तालाई कसले पाउला भन्‍ने खुल्दुली छ । यता दलहरूको चिन्ता अर्कै छ । गठबन्धनभित्र कुन क्षेत्र कसले पाउला भन्‍ने छ भने गठबन्धनबाहिर कुन उम्मेदवारले पाउँदा हारजितको सजिलो/असजिलो होला भन्‍ने जोडघटाउ सुरु भएको छ ।

यस्तै जोडघटाउबीच चुनावी प्रतिस्पर्धा गर्न तयार भएका छन् नेपाली काँग्रेस महासमिति सदस्य तथा काठमाडौं क्षेत्र नम्बर-३ का पुर्व क्षेत्रीय सभापति परशुराम पोख्रेल ।

-परशुराम पोख्रेल

२०३६ सालको जनमतसङ्ग्रहबाट नेपाली काँग्रेसको राजनीतिमा होमिएका पोख्रेल पुराना र अनुभवी काँग्रेस नेतामा पर्दछन । सोही समयमा नेपाली काँग्रेस सुन्दरीजल एरियाको सभापति भएका पोख्रेल तत्कालीन अवस्थामा दमननाथ ढुंगाना र सुन्दरराज चालिसेको प्रशिक्षणबाट काँग्रेस राजनीतिमा लागेको बताउँछन् । ‘म जान्ने भएदेखि नै काँग्रेस राजनीतिमा लागें, त्यो समय मेरो राजनीतिक गुरु चाहिँ दामोदर गौतम बन्नुभयो’, पोख्रेलले भने ।

२०४६ सालको ऐतिहासिक जनआन्दोलनमा स्वास्थकर्मीको रुपमा समेत सहभागी भएका पोख्रेलले त्यसपछि सर्वोच्च कमान्डर गणेशमान सिंह, सन्त नेता कृष्णप्रसाद भट्टराईलगायतसँग काम गर्ने अवसर पाए । उनले २०४७ सालमा तत्कालिन सुन्दरीजल जेललाइ बिपी संग्रहालय बनाउनुपर्छ भन्ने आवाज उठाउदै स्थानीय क्षेत्रमा आवाज उठाए ।

सोही क्रममा २०४७ जेठ २२ मा बिपी चोक सुन्दरीजलमा मिटिङ हुँदै गर्दा त्यतिबेलाको शाही नेपाली सेनाले हस्तक्षेप गरी पोख्रेललाई ब्यारेकमा थुनेको थियो । सुन्दरीजल जेललाई संग्रहालय बनाउने कुरासँगै त्यस क्षेत्रमा सेनाले जग्गा हडपेको कुरा पनि उठेको थियो । त्यसपछि झन् पार्टी र बिपीको सिद्धान्तप्रति कटिबद्ध भएर लागेका पोख्रेल माओवादी जनयुद्धको समयमा पनि पार्टी कामको लागि माओवादी उद्गमथलो रुकुम र रोल्पा पुगे ।

उनले तत्कालीन अवस्थामा पार्टीले लगाएको जुनसुकै भुमिका निर्वाह गर्न पछि परेनन् । ‘माओवादीले खोजी खोजी काँग्रेसमाथि आक्रमण गरेको समयमा पनि म महाधिवेशन प्रतिनिधिकै हैसियतमा रुकुम पुगेर काम गरेर आँए’, उनले भने- ‘माओवादीकै आधार इलाका भनिएको ठाउँमा काँग्रेसको कार्यक्रम सम्पन्न गर्नु त्योबेला ठुलै चुनौती मानिन्थ्यो’ ।

त्यसपछि २०६२/०६३ को दोस्रो जनआन्दोलनको समयमा पाँचपटक गिरफ्तार भएर प्रहरी हिरासतमा पुगेको बताउने पोख्रेल सो समयमा नेपाली काँग्रेस क्षेत्रीय सभापति थिए । उनले काँग्रेसको राजनीतिसँगै स्व. बिपी कोइरालाको पुर्ख्यौली सिन्धुलीको दुम्जालाई संरक्षण गरी ऐतिहासिक पर्यटकीय क्षेत्र बनाउनुपर्छ भन्ने अवधारणा पनि ल्याए ।

आज उक्त क्षेत्रमा ५०औं करोडको योजना सरकारको तर्फबाट पूरा हुने अवस्थामा छ । कोइरालाहरुको उद्‍गम थलो मानिएको सिन्धुली दुम्जाको धरेन डाडा अहिले पर्यटकीय क्षेत्र बनेको छ । उनले बिपी कोइरालाको धेरै सङ्ग्रहित ग्रन्थ, बिपीको भारत बसाइको डकुमेन्ट, बिपीको भारतमा बनेको शालिक संरक्षण लगायत थुप्रै कुरामा चासो दिएर काम गरिरहेका छन् ।

यी सबै विषयसँगै नेपाली काँग्रेसको राजनीतिमा अनवरत लागेका पोख्रेल यसपटक पनि काठमाडौं क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभामा उम्मेदवार सिफारिस भएका छन् । उनी २०६४ को निर्बाचनदेखि हरेक पटक सिफारिसमा परेका नेता हुन् । उनले यो सिफारिस प्रक्रिया जे जसरी भएपनि पार्टीले योगदान, क्षमता र क्रियाशीलता हेरेर आफुलाइ न्याय गर्नेमा ढुक्क रहेको सुनाए ।

‘मैले टिकट पाउने कुरामा कुनै सोचनीय विषय नै छैन’, उनले भने- ‘सिनियरको हिसाबले पनि अम्बिका दिदी (अम्बिका बस्नेत) मात्रै हो, उहाँ समानुपातिकमा बस्नुभयो भन्ने सुनेको छु । अब बाँकी साथीहरुमध्ये मैले टिकट पाउनेमा ढुक्क छु’ ।

उनले आफू काठमाडौंमा जन्मेको भएपनि सुगम र दुर्गम सबै अनुभव भएकोले जनताले चाहे जस्तो विकास कसरी गर्न सकिन्छ भन्ने ज्ञान आफुलाइ भएको बताए । उनले स्वतन्त्र उठेर बालेन शाह, हर्क साम्पाङ र गोपाल हमालले जसरी जनताको मन जितेका छन त्यसैगरी काम गर्न सक्ने आफुमा आत्मविश्वास रहेको समेत सुनाए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय