नाइजेरियामा बाढीका कारण ३००भन्दा बढीको मृत्यु, एक लाख विस्थापित

एजेन्सी, ५ असोज । नाइजेरियाका अधिकारीहरुले जुलाईदेखि हालसम्म देशभर बाढीका कारण तीन सयभन्दा बढी व्यक्तिको मृत्यु भएको र एक लाखभन्दा बढी विस्थापित भएको बताएका छन् ।

पश्चिम अफ्रिकी देश नाइजेरियाले हाल कैयौं वर्षयताकै सबैभन्दा घातक बाढीको सामना गरिरहेको छ । देशका ३६ मध्ये २९ राज्य बाढीबाट प्रभावित भएको अधिकारीहरूले बताएका छन् । बाढीका कारण घर र खेतबारीहरु पनि ध्वस्त भएका छन् ।

भारी वर्षा तथा नाइजेरियाभित्र प्रवेश गर्ने नदीको बाँध खोलिनु र नदीहरुको बहाव बढ्दै जानुले यस्तो भएको बताइएको छ । नाइजेरियाको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले आगामी हप्ताहरूमा थप बाढी आउन सक्ने चेतावनी पनि दिएको छ ।

विभिन्‍न राज्यका सरकारहरूलाई बाढी प्रभावित क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई बाहिर निकाल्न मद्दत गर्न आग्रह गरेको छ ।

हाल धेरै अफ्रिकी देशहरुमा असामान्य भारी वर्षा भइरहेको छ । यसकै कारण विनाशकारी बाढी निम्तिएको बताइन्छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय